सप्तरी कारागारमा चौकीदारमाथि भएको कुटपिट घटनाको सत्यतथ्य छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
घटनामा संलग्न कैदीबन्दीलाई कारबाही गरी अन्यत्र सरुवा गर्नुपर्ने माग राख्दै ए–ब्लकका २०१ जना कैदीबन्दी दुई दिनदेखि आमरण अनशनमा बसेका छन् । घटनाको सत्यतथ्य छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग कार्यालय सप्तरीका अधिकृतस्तरका प्रतिनिधि सदस्य रहेका छन् भने जिल्ला प्रशासन कार्यालय सप्तरीका अधिकृत सदस्य–सचिव रहेका छन् ।
कारागार प्रमुख रूपक मण्डलका अनुसार समितिलाई घटनाको वास्तविक अवस्था अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ । सो समितिलाई ७ दिनभित्र प्रतिवेदन तयार पार्न समयावधि दिइएको छ । कारागार प्रमुख मण्डलका अनुसार गत असार ३२ गते बी–ब्लकका ३८ वर्षीय चौकीदार रामरिझन यादवमाथि केही कैदीबन्दीले कुटपिट गरेका थिए । कुटपिटबाट यादवको आँखामाथिको भागमा गहिरो चोट लागेको र चार वटा टाँका लगाइएको छ । उनको टाउको तथा शरीरका अन्य भागमा समेत चोट लागेको बताइएको छ । घाइते यादवलाई तत्काल राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गराई कारागार ल्याइएको थियो ।
आइतबार बिहान स्वास्थ्यमा पुनः समस्या देखिएपछि अस्पतालमा परीक्षण गराइएको र चिकित्सकले आराम गर्न सुझाव दिएको कारागार प्रशासनले जनाएको छ । उपचारका क्रममा यादवले लागूऔषध मुद्दाका केही कैदीबन्दीले आफूलाई सामूहिक रूपमा कुटपिट गरेको आरोप लगाएका छन् । उनका अनुसार जाहुर नट मियाँ -मजलुम), अनिशकुमार मण्डल, सुन्दर मुखिया, बुधन भन्ने जोगानन्द मण्डल, मिथिलेशकुमार यादव, कैलास विश्वास र अमरनाथ विश्वासलगायतले कुटपिट गरेका थिए । कारागार प्रमुख मण्डलले कारागारभित्र विशेष सुरक्षा अपरेसन सञ्चालन गर्ने तयारी भइरहेका बेला उक्त कार्य रोक्ने उद्देश्यले चौकीदारमाथि आक्रमण भएको दाबी गरेका छन् । चौकीदारको नियुक्ति, आर्थिक लेनदेन वा व्यक्तिगत विवादसँग घटनाको सम्बन्ध नरहेको उनको भनाई छ । यसैबीच प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले कारागारभित्र ए–ब्लक र बी–ब्लकका कैदीबन्दीबिच विवाद रहेको बताएका छन् ।
उनले भने दुवै पक्षले एकअर्कामाथि आरोप–प्रत्यारोप गर्दै आएका छन् । घटनाको सत्यतथ्य छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिसकिएको हो, छानबीनपछि सत्यथ्य बाहिर आउने हो । १ सय २५ जनाको क्षमता रहेको कारागार कार्यालय सप्तरीमा हाल ३ सय ९८ जना कैदीबन्दी रहेका छन् । कारागार प्रशासनका अनुसार ए–ब्लकमा २०१, बी– ब्लकमा १६६ तथा सी–ब्लकमा तीन आश्रित बालबालिकासहित ३१ जना महिला कैदीबन्दी रहेका छन् । शनिवार बिहान सो घटनालाई लिएर पाँच जना कैदीबन्दीले कारागारको मुख्य प्रवेशद्वार तथा आफ्नै शरीरमा मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेका थिए ।
आत्मदाहको प्रयास गर्नेहरूमा बुधन मण्डल, अमरनाथ विश्वास, अनिशकुमार मण्डल, मिथिलेश यादव र सुन्दर मुखिया थिए । कारागार भित्र शंकास्पद वस्तु लुकाइराखिएको हुन सक्ने आशंकामा विशेष सुरक्षा अपरेसन सञ्चालन गर्ने तयारी गरिएको थियो । सोही क्रममा असार ३२ गते लागूऔषध मुद्दाका कैदी बुधन मण्डललाई बी–ब्लकबाट ए–ब्लकमा सार्ने क्रममा बी–ब्लकका केही कैदीबन्दीले चौकीदार रामरिझन यादवमाथि कुटपिट गरेको थियो ।
बी–ब्लकका चौकीदार रामरिझन यादव नियुक्त भएपछि व्यवस्थापन तथा कैदीबन्दीप्रति असमान व्यवहार भएको आरोप लगाउँदै कैदीबन्दीबिच असन्तुष्टि र गुटबन्दी बढ्दै गएका कारण उक्त घटना भएको आरोप लागिरहेको छ ।

