२०८३ श्रावण ५, मंगलवार ०७:२९

धनुषाको ढल्केबर–जटही सडकखण्ड अन्तर्गत मिथिला नगरपालिका–६ स्थित बसही खोलाको पुल निर्माण सम्पन्न हुन नसक्दा स्थानीयवासी र यात्रु सास्ती भोग्न बाध्य छन् । निर्माणमा भएको ढिलाइले उक्त स्थान दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।

ढल्केबरदेखि जटहीसम्मको सडक ६ लेनमा विस्तार भइसके पनि बसही खोला पार गर्न अझै पुरानै साँघुरो पुल प्रयोग गर्न स्थानीय तथा यात्री बाध्य छन् । फराकिलो सडकबाट तीव्र गतिमा आएका सवारीसाधन साँघुरो पुलमा प्रवेश गर्दा चालक झुक्किने र दुर्घटना हुने क्रम बढेको स्थानीयको भनाइ छ ।

स्थानीय सुरेन्द्र यादव भन्छन निर्माण व्यवसायीको लापरवाहीका कारण वर्षौंदेखि पुल निर्माण अलपत्र परेको छ । सो अवधिमा उक्त क्षेत्रमा धेरै दुर्घटना भइसकेका छन् भने मानवीय क्षतिसमेत भएको उनले बताए । निर्माणस्थलमा राखिएका सामग्रीमा समेत खिया लाग्न थालेको छ । सडक डिभिजन कार्यालय जनकपुरका अनुसार १४ करोड ८ लाख २३ हजार रुपैयाँ लागतमा नागार्जुन–हेक कन्स्ट्रक्सन जेभीसँग २०७६ असार ३१ गते निर्माण सम्झौता भएको थियो ।

२०७८ असार मसान्तभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म करिब ४० प्रतिशत मात्रै निर्माण सम्पन्न हुन सकेको छ । सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख दरोगाप्रसाद साहका अनुसार पटक– पटक म्याद थप्दा पनि निर्माण व्यवसायीले अपेक्षित प्रगति नगरेपछि कारबाही प्रक्रिया अघि बढाइएको छ ।

सोही प्रक्रियाका कारण अहिले निर्माण कार्य रोकिएको उनले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले पुरानो साँघुरो पुलका कारण दुर्घटनाको जोखिम बढेको हो । फराकिलो सडकबाट आउने सवारीसाधन एक्कासि साँघुरो पुलमा पुग्दा चालक अलमलिने गरेका छन् ।

जोखिम न्यूनीकरणका लागि ट्राफिक संकेत राखिए पनि चालकको असावधानीका कारण दुर्घटना रोक्न चुनौती भइरहेको उनको भनाई छ । जनकपुरधामको धार्मिक पर्यटन तथा मधेश प्रदेशको यातायात सञ्जालका दृष्टिले महत्वपूर्ण मानिने यस सडकखण्डमा पुल निर्माण सम्पन्न नहुँदा आवागमन मात्र होइन, स्थानीय आर्थिक गतिविधिसमेत प्रभावित हुँदै आएको छ । सो स्थानमा एक दर्जनभन्दा बढी सवारी दुर्घटना भइसकेको छ ।

Comment


Related News

Latest News

Trending News