कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवबिच भेटवार्ता भएको छ ।
मन्त्रालयमा सोमबार भएको भेटमा मन्त्री चौधरीले कृषि क्षेत्रको दिगो विकासका लागि सङ्घ र मधेस प्रदेशबिच समन्वय र सहकार्य आवश्यक रहेको बताएको उनको सचिवालयले जनाएको छ । उनले सङ्घ–प्रदेश साझेदारीलाई थप मजबुत बनाउन आवश्यक कानुनी व्यवस्था तथा साझेदारी ऐनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताइन् ।
उनले माटोको गुणस्तर सुधारलाई प्राथमिकतामा राखी परीक्षणलाई व्यापक बनाउने, वैज्ञानिक व्यवस्थापनमार्फत उत्पादन वृद्धि गर्ने, निजी क्षेत्रको लगानी आकर्षित गर्दै कृषि आधुनिकीकरणलाई तीव्रता दिनुपर्नेमा जोड दिएकी थिइन् ।
छलफलका क्रममा मन्त्री चौधरीले कार्बन व्यापार र हरित अर्थतन्त्रबाट मधेस प्रदेशले आम्दानी बढाउ नसक्ने उल्लेख गरिन् । उनले मधेस प्रदेशका सम्भावनालाई योजनाबद्ध रूपमा अघि बढाउन आग्रह गरेकी थिइन् ।

