२०८३ श्रावण ५, मंगलवार ०९:२६

मधेश प्रदेशमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि व्यापक कारबाही गर्दै एक आर्थिक वर्षमा झण्डै १३ करोड रुपैयाँ राजस्व संकलन भएको छ। ट्राफिक प्रहरीको यही कडाइ, निरन्तर सचेतना अभियान र प्रभावकारी निगरानीका कारण सवारी दुर्घटनाको संख्या बढे पनि दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या भने घटेको देखिएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख एसपी ज्ञानेन्द्र बहादुर बस्नेतका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लंघन गर्ने १ लाख १० हजार ७५५ सवारीसाधनमाथि कारबाही गर्दा ११ करोड १५ लाख ६५ हजार २१० रुपैयाँ राजस्व संकलन भएको छ। यस्तै, यातायात व्यवस्था कार्यालयमार्फत ८४८ ओभरलोड सवारीसाधन कारबाहीमा पर्दा थप १ करोड ५४ लाख ४९ हजार २५७ रुपैयाँ राजस्व उठेको छ।

जिल्लागत रूपमा पर्सामा सबैभन्दा धेरै १३ हजार ७८९ सवारीसाधन कारबाहीमा परेका छन्। त्यसबाट १ करोड ६१ लाख ७१ हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको छ। त्यसैगरी महोत्तरीमा १ करोड ४९ लाख ३० हजार ५०२ रुपैयाँ, बारामा १ करोड ३२ लाख ७९ हजार ५१ रुपैयाँ, रौतहट र सर्लाहीमा समान १ करोड १७ लाख ५२ हजार ५०२ रुपैयाँ, सिरहामा १ करोड १४ लाख ५६ हजार रुपैयाँ, धनुषामा १ करोड ११ लाख ३४ हजार ५० रुपैयाँ तथा सप्तरीमा ५४ लाख १४ हजार ५५१ रुपैयाँ राजस्व उठेको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले मात्रै १ करोड ७२ लाख ८२ हजार ५३ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।

यही अवधिमा प्रदेशभर ११ हजार ४१६ सवारी दुर्घटना भएका छन्, जसमा ५३४ जनाको मृत्यु भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१र८२ मा ७ हजार ४४३ दुर्घटनामा ५६४ जनाले ज्यान गुमाएका थिए। अर्थात् दुर्घटना उल्लेख्य रूपमा बढे पनि मृतकको संख्या ३० ले घटेको छ।

प्रदेश ट्राफिक प्रहरीका प्रवक्ता डीएसपी नवराज न्यौपानेका अनुसार दुर्घटनामा सबैभन्दा बढी ७ हजार ८५१ मोटरसाइकल परेका छन्। मोटरसाइकलको अत्यधिक प्रयोग, तीव्र गति, ट्राफिक नियम उल्लंघन, हेल्मेट प्रयोगमा लापरवाही, जोखिमपूर्ण ओभरटेक, अनुभवहीन चालक, मोबाइल चलाउँदै सवारी चलाउने बानी, मदिरा सेवनपछि सवारी चलाउने प्रवृत्ति तथा वर्षायाममा चिप्लो सडक दुर्घटनाका मुख्य कारण हुन्।

आर्थिक वर्षभर प्रदेशका विभिन्न स्थानमा २६ हजार ८८३ ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो, जसमा १४ लाख २४ हजार ८४४ जनाको सहभागिता रहेको थियो। ट्राफिक प्रहरीका अनुसार नियमको कडाइका साथ कार्यान्वयन, व्यापक जनचेतना र नियमित निगरानीकै कारण दुर्घटनाको जोखिम न्यूनीकरणसँगै मृत्युदर घटाउन सकारात्मक उपलब्धि हासिल भएको हो।

Comment


Related News

Latest News

Trending News