२०८३ श्रावण ५, मंगलवार १४:११

प्रधानमन्त्री वालेन्द्र शाहले तयारी पोशाक उद्योगले भोगिरहेका समस्याहरु समाधानका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले उद्योगले भोगिरहेका समस्या समाधान र उत्पादन तथा निर्यात प्रवर्धनलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको हो । सो क्रममा प्रधानमन्त्री शाहले तयारी पोशाक उद्योगको वर्तमान अवस्थाका बारेमा जानकारी समेत लिनुभएको नेपाल तयारी पोशाक उद्योग संघका पशुपतिदेव पाण्डेले जानकारी दिनुभयो ।

सन् २००५ अघिको अवस्थामा जस्तै नेपाली तयारी पोसाक उद्योगलाई पुनर्जीवित गरी देशको अर्थतन्त्रलाई सबल बनाउने विषयमा गहन छलफल भएको उहाले बताउनुभयो । उहाले छलफलका क्रममा मन्त्रालयहरूमा रोकिएका र अड्केका समस्याहरूलाई तुरुन्तै बैठक बसी समाधान गर्न सम्बन्धीत निकायलाई तत्काल निर्देशन दिनुभएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री शाहले २०औँ वर्षदेखि बन्द रहेका तयारी पोसाकका रुग्ण उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याई आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने योजना रहेको समेत जनाउनुभएको अध्यक्ष पाण्डेले बताउनुभयो ।

साथै कपडा/पोसाक उद्योगलाई सुदृढ बनाउन टेक्स्टाइल काउन्सिल गठन गरी यस क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गरिने समेत प्रधानमन्त्रीले प्रतिवद्धता जनाउनुभएको थियो ।

त्यसैगरि अमेरिकातर्फको निर्यातमा देखिएको प्रयोगशाला/परीक्षण सम्बन्धी अवरोध फुकाउन परराष्ट्र मन्त्रालयमार्फत तत्काल सहजीकरण गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पाण्डेले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News