जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि बोर्डको बहुमतको दम्भमा संस्थाको इतिहास मेटाउने, सहयोगी दाताको योगदान र विगतका नेतृत्वले बनाएको संस्थागत कृतिलाई समाप्त पार्ने प्रयास गरेको आरोप लागेको छ । संघको ५८ औँ साधारण सभाका क्रममा गरिएको नयाँ तथा पुरानो भवनको पुनः उद्घाटन र ‘राजर्षि जनक सभाकक्ष’ को नाम परिवर्तनको विषयलाई लिएर संघका पूर्वअध्यक्ष, निवर्तमान अध्यक्ष तथा वरिष्ठ पदाधिकारीहरू आपति जनाउंदै असन्तुष्टि व्यक्त गरेका छन् ।
साधारण सभाका अवसरमा निवर्तमान अध्यक्ष जितेन्द्र महासेठको कार्यकालमा मधेश प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा निर्माण भएको नयाँ कार्यालय भवन अध्यक्ष भण्डारीको नेतृत्वमा कार्यसमिति पदाधिकारीहरु र नाम परिवर्तन गरिएको सभाकक्षको एमाले नेता तथा पूर्वमन्त्री रघुवीर महासेठले गरेका थिए ।
पूर्वअध्यक्ष रमेश साहले बहुमतीय दम्भमा संघका कार्यसमितिले संस्थाको कृति तथा इतिहास मेटाउने गरेको प्रयासप्रति गम्भीर आपति जनाएका छ्न । उनले कुनै पनि कार्यसमितिले गरेको कार्यको कदर गर्नुपर्छ न कि आफ्ना नेतालाई खुश पार्न संस्थाको गरिमा धरापमा पार्नु गलत परम्पराको सुरुवात हो । राजनीतिक आवरण कायम राख्न आज भण्डारी नेतृत्वको कार्यसमिति यस्ता कार्य गरेका छन् । आगामी आउने कार्यसमितिले आफ्ना नेतालाई खुश पार्न यिनहरुले गरेका कार्यलाई समाप्त पार्नेछ । यो गलत परम्पराको थालनी हो ।
२०५६ सालमा आफ्नै कार्यकालमा संघका पदाधिकारी, स्थानीय उद्योगी व्यवसायी तथा नागरिक समाजका अगुवाहरुको कयौं दिनको गहन छलफल पश्चात निर्मित भवनको मिथिलाको ऐतिहासिक पहिचानलाई सम्मान गर्दै ‘राजर्षि जनक सभाकक्ष’ नामकरण गरिएको थियो र त्यसबेला नेपाल उद्योग वाणिज्य महासंघका तत्कालीन अध्यक्ष प्रदीप श्रेष्ठबाट उद्घाटन गरिएको उनले बताए । साहले भने, ‘राजर्षि जनक सभाकक्ष केवल एउटा नाम मात्र थिएन, जनकपुरधामको ऐतिहासिक र सांस्कृतिक पहिचानसँग जोडिएको संस्थागत सम्पदा थियो । भावी पुस्तालाई जनकपुरधामको ऐतिहासिक स्मरण उद्देश्यले यो नाम राखिएको थियो । आज त्यसलाई मेटाएर नयाँ नाम थोपर्नु इतिहास नै मेटाउने प्रयास हो ।’ पूर्वअध्यक्ष निर्मल चौधरीले पनि पुनः उद्घाटन र नाम परिवर्तनको आपति जनाएका छन् । उनले भने उद्घाटन नयाँ संरचनाको हुन्छ न कि सौन्दर्यकरणको हुन्छ । उनका अनुसार, यस्तो कार्यले संघमा योगदान पु¥याएका पूर्वअध्यक्ष तथा पदाधिकारीहरूको योगदानलाई मेटाउने प्रयास मात्र होइन संस्थाको गरिमामा समेत ठूलो प्रश्न खडा गरेको छ ।
निवर्तमान अध्यक्ष जितेन्द्र महासेठले पनि एउटै भवनको पटक–पटक उद्घाटन गर्नु न्यायोचित नभएको बताए । उनले भने, ‘उद्घाटन भइसकेको भवनलाई फेरि उद्घाटन गर्नु उचित होइन । ‘राजर्षि जनक सभाकक्ष’ को नाम हटाएर नयाँ नाम राख्नु इतिहास मेटाउने कार्य हो । मलाई भने रिमोडलिङ गरिएको गेस्ट हाउसको नामकरण मात्रै हुने जानकारी दिइएको थियो ।’ महासेठकै कार्यकालमा मधेश प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा उक्त भवन निर्माण भएको थियो ।
तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले भुइँतलाका लागि ४० लाख, तत्कालीन अर्थमन्त्री शैलेन्द्र साहले पहिलो तलाका लागि २५ लाख र जनकपुरधाम उपमहानगरपालिकाले दोस्रो तलाका लागि २५ लाख रुपैयाँ उपलब्ध गराएको थियो । ती संरचनाहरूको उद्घाटन सहयोगदाताबाट त्यसबेलै सम्पन्न गराइएको थियो ।
पूर्वअध्यक्ष श्यामप्रसाद साह र ललित साहले पनि वर्तमान नेतृत्वले विगतको योगदानको सम्मान गर्नुको सट्टा संस्थागत इतिहास नै मेटाउने काम गरेको आरोप लगाए । उनीहरूले विगतका कार्यसमितिले धेरै संरचना निर्माण गरे पनि सामान्य मर्मत वा सौन्दर्यकरणलाई उद्घाटनको विषय बनाउने र पुरानो नाम हटाउने जस्ता गलत कार्य कहिल्यै गरेनन् ।
संघका वरिष्ठ उपाध्यक्ष मनोज साहले बोर्ड बैठकमै आफूले र उपाध्यक्षले नाम परिवर्तन तथा पुनः उद्घाटनको प्रस्तावको बोर्डको बैठकमै आपति जनाएको थिए र तर बहुमतको केही गर्न नसकेको बताए । यता संघका महासचिव फुलदेव पण्डितले नयाँ भवनको नभइ सौन्दर्यकरणको उद्घाटन गरिएको जिकिर गरे । उनले सभा कक्षको नाम परिवर्तन नगरी गेस्टहाउसको नामाकरण गरिएको दाबी गरे । सहयोगी दाता तथा पूर्व केन्द्रीय अध्यक्षले उद्घाटन गरिसकेको भवनलाई पुनः उद्घाटन गर्नु र अध्यक्षीय स्वार्थमा जनकपुरसँग संघको जोडिएको ऐतिहासिक कृति समाप्त पार्नु कतिको उचित हो भन्ने प्रश्नमा उनले बोल्न चाहेनन् । यसलाई दाताको योगदान ओझेलमा पार्दै व्यक्तिगत प्रचार गर्ने प्रयासका रूपमा टिप्पणी भइरहेको छ ।
सबभन्दा हस्यास्पद कुरा त के पर्खाल निर्माण र फलामे झुलाको समेत एमाले नेता महासेठ र जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहद्वारा संयुक्त रुपमा गराइएको छ । आफूले गरेको गलतीलाई ढाकछोप गर्न भगवानको प्रसाद झै अध्यक्ष भण्डारीले मायाको चिनो भनेर सयौंको संख्यामा आफ्ना सहयोगी तथा समर्थकको नाममा सम्मान वितरण गरे ।

