श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको पूर्वनिर्धारित जानकी मन्दिर दर्शन कार्यक्रम हिन्दूवादी समूहको कडा विरोधपछि स्थगित भएको छ । गाईसम्बन्धी उनले विगतमा दिएको भनिएको विवादास्पद अभिव्यक्तिलाई आधार बनाउँदै हिन्दू सम्राट सेना नेपालका कार्यकर्ताले मन्दिर प्रवेशको विरोध गरेपछि जनकपुरधाम दिनभर तनावग्रस्त बनेको छ ।
मधेश प्रदेशमा आयोजित श्रम संस्कृति पार्टीको साधारण सभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुगेका साम्पाङले जानकी मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम तय गरेका थिए । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्दिर दर्शन गर्ने जानकारी सार्वजनिक गरेसँगै हिन्दू सम्राट सेना नेपालका कार्यकर्ताले विरोध प्रदर्शन सुरु गरेका थिए ।
हिन्दूवादी प्रदर्शनकारीहरूले साम्पाङलाई कुनै पनि अवस्थामा जानकी मन्दिर प्रवेश गर्न नदिने चेतावनी दिएका थिए । उनीहरूको आरोप अनुसार साम्पाङले विगतमा हिन्दू धर्म, गाई तथा सनातन संस्कृतिप्रति आपत्तिजनक अभिव्यक्ति दिएका थिए । हिन्दू सम्राट सेना नेपालकी नेतृ मञ्जु थापाले साम्पाङले बारम्बार हिन्दू धार्मिक आस्थामाथि चोट पुग्ने गतिविधि गरेको आरोप लगाइन् ।
यस्तै अर्की नेतृ लक्ष्मी साहले साम्पाङले गाईसम्बन्धी विवादास्पद अभिव्यक्ति दिएको र क्रिश्चियन धर्मलाई प्रश्रय दिएको आरोप लगाउँदै त्यही कारण उनलाई जानकी मन्दिर प्रवेश गर्न नदिने निर्णय गरिएको दाबी गरिन् । विरोध प्रदर्शन चर्किएपछि सम्भावित अप्रिय घटना रोक्न जानकी मन्दिर परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई संयुक्त रूपमा परिचालन गरिएको थियो।
दिनभर सुरक्षा सतर्कता बढाइएपछि मन्दिर क्षेत्र तनावपूर्ण बनेको थियो । जानकी मन्दिरमा भइरहेको विरोधबारे जानकारी पाएपछि अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत आफूले गृहमन्त्रीसंग सम्पर्क गर्ने प्रयास गरेको तर फोन स्वीच अफ रहेको उल्लेख गरे । उनले तत्काल दर्शन गर्न नसके पनि अर्को अवसरमा अवश्य जानकी माताको दर्शन गर्ने विश्वास व्यक्त गरे ।
मन्दिर परिसरमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेलको अवस्था सिर्जना भएपछि साम्पाङले जानकी मन्दिरमा दर्शन नगरी आफ्नो पार्टीको कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रमका क्रममा उनले मन्दिर प्रवेशको विषयमा आफ्नो विरोध गर्नेहरूको भावनाको सम्मान गर्ने प्रतिक्रिया दिए ।
यस घटनापछि जनकपुरधाममा सुरक्षा सतर्कता थप बढाइएको छ । साम्पाङको मन्दिर प्रवेश विवादले धार्मिक आस्था, अभिव्यक्ति स्वतन्त्रता तथा राजनीतिक गतिविधिबीचको सम्बन्धलाई लिएर बहस शुरु भएको छ ।

