बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् ।
उनीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष संयुक्त रूपमा राजीनामा बुझाएका हुन् । यससँगै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियाँलाई सम्बोधन गर्दै पठाएको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पार्टीको निर्णय तथा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सरकारमा सहभागी सबै मन्त्रीले मंगलबारदेखि लागू हुने गरी संयुक्त रूपमा राजीनामा दिएको उल्लेख गरिएको छ । पत्रमा राजीनामा स्वीकृत गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अघि बढाउन पनि आग्रह गरिएको छ ।
थपलियाले सरकारलाई दिइएको समर्थनसमेत फिर्ता लिइएको जानकारी दिएका छन् ।
एमालेबाट बागमती सरकारमा कृषि, पशुपन्छी तथा वन वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत यातायात हेर्ने मन्त्री जयराम थापा, कृषि मन्त्रालयअन्तर्गत वन तथा वातावरण हेर्ने मन्त्री भरतबहादुर केसी, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य हेर्ने मन्त्री किरण थापा तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ सहभागी थिए ।

