नेपाली कांग्रेस संस्थापन इतर पक्षले पार्टीको आन्तरिक एकताका लागि संस्थापन पक्ष गम्भीर नभएको आरोप लगाएका छन् ।
बीपी स्मृति दिवसको अवसरमा काठमाडौंमा छुट्टै कार्यक्रमको आयोजना गर्र्दै संस्थापनइतर पक्षले पार्टी मिलाउने मुख्य जिम्मेवारी सभापति गगन थापाको भएपनि आन्तरिक एकताका लागि संस्थापन पक्ष गम्भीर नभएको बताएका हुन् । साथै संस्थापनइतर पक्षले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गरेको जानकारी गराएको छ । भेलामार्फत आफुहरुले आगामी रणनीति तय हुने कांग्रेस नेता प्रकाशमान सिंहले बताउनुभयो । उहाले विशेष महाधिवेशनको कारणले पार्टी बिभाजनको अवस्थामा रहेकोले १५ औँ महाधिवेशन एकताको बनाउनुपर्ने पक्षमा आफूहरू रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र सम्मानजनक एकताको पहल हुन नसकेको बताउनुभयो । उहाले कांग्रेस स्थापनाकालदेखि पहिलोपटक प्रतिकूल अवस्थामा पुगेको भन्दै पार्टी मिलाउने जिम्मेवारी अहिलेको नेतृत्वको भएको बताउनुभयो । खड्काले पार्टीको सिद्धान्तलाई तिलाञ्जली दिएर कसैसँग समर्पण गर्न नसकिने समेत स्पष्ट पार्नुभयो ।
त्यस्तै पार्टीका नेता डा शेखर कोइरालाले कांग्रेस हुकुमी शासनको हिसाबले चलिरहेको भन्दै बिनास्पष्टीकरण नेताहरुलाई कारवाही गर्ने कार्य स्वीकार्य नहुने धारणा राख्नुभयो । पार्टीभित्र एकताको कुनै पहल नगर्दा हुने क्षतिको सम्पूर्ण जिम्मेवारी सभापतिले नै लिनुपर्ने उहाले बताउनुभयो ।
त्यस्तै कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले आफुहरुले एकताका लागि प्रयास गरिरहेको भन्दै आफुहरुका माग र सहमतिका आधारहरू स्वीकार नगरे नयाँ बाटो तय गर्नु बाध्यता हुने स्पष्ट पार्नुभयो । उहाले पार्टी नेतृत्वमा हुनुपर्ने दूरदर्शिता र परिपक्वता सभापति थापामा नरहेको टिप्पणी गर्नुभयो ।
त्यस्तै अन्य नेताहरुले सभापति थापा पार्टी कव्जा गर्ने बाटोमा अघि बढेको भन्दै स्वीकार्य नहुने चेतावनी दिएका थिए । उनीहरुले मुलुक र लोकतन्त्र सङ्कटमा परेको अवस्थामा पार्टीको आन्तरिक एकताका लागि गम्भीर हुन नेतृत्वलाइ सुझाव दिएका थिए ।

