पूर्वराष्ट्रपति रामवरण यादवले संघीयताको विपक्षमा लागेको भन्दै अर्थमन्त्री स्वर्णिम वाग्लेको कडा आलोचना गरेका छन् । विद्वान् अर्थमन्त्री भन्ने तर संघीयताजस्तो सबैको मुद्दालाई नबुझ्ने भन्दै पूर्वराष्ट्रपति यादवले कटाक्ष गरे ।
बत्तीसपुतलीमा बुधबार कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाबारेको पुस्तक ‘बौद्धिकता र विद्रोह’को लोकार्पण समारोहमा बोल्दै यादवले अर्थमन्त्री वाग्लेमाथि कटाक्ष गरे । पूर्वराष्ट्रपति यादवले भने, ‘अर्थमन्त्रीले संघीयता खतम गर भन्छन् । जसले बुझेको छ, यो देश फेरि रडाकोमा गएर बर्बाद हुने कुरा भइरहेको छ । विद्वान हामी पनि भन्छौँ । विद्वान् मान्छेले पीएचडीमा काम गरेको छ, देशमा प्याराडाइम सिफ्ट गर्छु, कहाँबाट कहाँ लान्छु भन्छ । तर, त्यस्को हालत त त्यो छ । भन्छ कि संघीयता खतम गर भनेर ।’ मन्त्री भएपछि अर्थमन्त्री वाग्लेले संघीयता खतम गर्न सार्वजनिक रूपमा बोलेका छैनन् । तर, मन्त्री बन्नुअघि उनले खर्च धेरै भएको, धेरै नेता पाल्नुपरेको तथा संघीय संरचना बोझ भएको भन्दै नेपालको वर्तमान संघीय संरचनाको विपक्षमा आफ्नो धारणा सार्वजनिक गरेका थिए ।
असारमा चितवनमा भएको राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपा) को प्रथम महाधिवेशनमा पनि प्रदेशसभा खारेजीको प्रस्ताव उठाइएको थियो । यसले संघीयताका पक्षधरहरू भने रास्वपाप्रति सशंकित छन् ।

