भारतको बिहार सरकारले माता सीताको जन्मस्थली पुनौरा धामलाई अन्तर्राष्ट्रिय धार्मिक तथा सांस्कृतिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने महत्त्वाकांक्षी योजना अघि बढाएको छ ।
यस अन्तर्गत ‘सीता करिडोर’ निर्माणका लागि मन्दिर न्यास समितिलाई ५०.८९ एकड जग्गा निःशुल्क हस्तान्तरण गर्ने निर्णय गरिएको छ । सरकारका अनुसार पुनौरा धामलाई भारतको अयोध्या स्थित श्रीराम मन्दिर र काशी विश्वनाथ धामको ढाँचामा विश्वस्तरीय धार्मिक गन्तव्यका रूपमा विकास गरिनेछ।
परियोजनाले श्रद्धालु तथा पर्यटकलाई आधुनिक सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ । प्रस्तावित सीता करिडोर अन्तर्गत मन्दिर परिसरको सौन्दर्यीकरण, फराकिला सडक, पर्याप्त पार्किङ, यात्रु सेवा केन्द्र, धर्मशाला, होटल, हरित क्षेत्र, डिजिटल सूचना प्रणाली तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण गरिनेछ ।
यस परियोजनाले रामायण सर्किटलाई थप मजबुत बनाउने विश्वास गरिएको छ। अयोध्या, जनकपुर, पुनौरा धामलगायत रामायणकालीन धार्मिक स्थलहरूको यात्रा देश–विदेशका श्रद्धालुका लागि अझ सहज, व्यवस्थित र आकर्षक बन्ने अपेक्षा गरिएको छ । पर्यटन क्षेत्रका जानकारहरूका अनुसार सीता करिडोर निर्माणसँगै धार्मिक पर्यटनमा उल्लेखनीय वृद्धि हुनेछ । त्यसबाट होटल, यातायात, हस्तकला, स्थानीय व्यापार तथा पर्यटनमा आधारित रोजगारीका नयाँ अवसर सिर्जना हुनेछन्। यसले सीतामढी जिल्लाको स्थानीय अर्थतन्त्रलाई समेत नयाँ गति दिने अपेक्षा गरिएको छ ।
परियोजना अन्तर्गत मन्दिर न्यास समितिलाई ५०.८९ एकड जग्गा निःशुल्क हस्तान्तरण गरिने, पुनौरा धामलाई विश्वस्तरीय धार्मिक तथा सांस्कृतिक पर्यटन केन्द्रका रूपमा विकास गरिने तथा रामायण सर्किटलाई अन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउने लक्ष्य राखिएको छ । बिहार सरकारको यो पहलले धार्मिक पर्यटन प्रवद्र्धनसँगै सांस्कृतिक सम्पदाको संरक्षण र स्थानीय आर्थिक विकासमा महत्त् वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

