प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्गानिक बस्तुको प्रवद्र्धनमा देखिएका समस्यमा समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
बिहीबार सिंहदरबारमा नेपाल अर्गानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग छलफल गर्दै प्रधानमन्त्री शाहले ऐन नियम बनाएर भएपनि अर्गानिक बस्तुको प्रवद्र्धनमा देखिएका समस्यमा समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको हो । छलफलका क्रममा संघका प्रतिनिधिहरुले अर्गानिक मलमा अनुदान, अर्गानिक बस्तु निर्यातका लागि प्रमाणपत्र जारी गर्ने, अन्तर्राष्ट्रिय मान्यता प्राप्त अर्गानिक संस्था बनाउनुपर्ने लगाएतका बिषय उठाएका थिए । जवाफमा प्रधानमन्त्री शाहले निर्यातका लागि प्रमाणपत्र जारी गर्नका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त अर्गानिक संस्था बनाउनका लागि आवश्यक ऐन कानून संशोधन र निर्माणमा लाग्न तत्काल सचिवालयलाई निर्देशन दिनुभएको संघका अध्यक्ष दीपक प्रकाश बास्कोटाले जानकारी दिनुभयो । अर्गानिक बस्तुमा पाइरहेको अनुदान अहिले रोकिएकोमा त्यस बिषयमा पनि लिखित जानकारी गराइएको उहाले बताउनुभयो ।
नेपालमा उत्पादित अर्गानिक बस्तुको अन्तराष्ट्रिय बजारमा धेरै माग रहेकाले उत्पादन र बजारीकरणमा ध्यान दिन आफुहरुले सुझाव दिएको संघका अध्यक्ष बास्कोटाले बताउनुभयो । उहाले आफुहरुले राखेका बिषयमा प्रधानमन्त्री निकै सकारात्मक हुनुभएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री शाहले नेपालमा उद्योग, व्यवसाय प्रवद्र्धनका निम्ति उद्योगी–व्यवसायीसँग निरन्तर छलफल गरिरहनुभएको छ ।

