जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०८२/०८३ मा सार्वजनिक गरेको वार्षिक कार्यसम्पादन प्रतिवेदनले अपराध नियन्त्रण, राजस्व चुहावट रोकथाम, लागुऔषध नियन्त्रण तथा समुदाय–प्रहरी साझेदारीका क्षेत्रमा राम्रो सक्रियता देखाएको छ । तर, बैंकिङ कसुर र आर्थिक अपराधको बढ्दो प्रवृत्तिले प्रहरी प्रशासनका लागि आगामी दिनमा नयाँ चुनौती थपिएको प्रतिवेदनले स्पष्ट संकेत गरेको छ ।
प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा पर्सामा कुल १ हजार ८ सय १३ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये सबैभन्दा धेरै ५ सय १ वटा बैंकिङ कसुर सम्बन्धी मुद्दा रहेका छन् । बैंकिङ कसुरका मुद्दा अन्य सबै अपराधभन्दा बढी हुनु आर्थिक कारोबारमा देखिएको अनियमितता, चेक बाउन्स तथा वित्तीय अनुशासनको कमजोरीतर्फ संकेत गर्ने विषय भएको सुरक्षा विश्लेषकहरू बताउँछन् ।
अभद्र व्यवहार, ठगी, साइबर अपराध र लागुऔषधका घटनासमेत उल्लेख्य देखिएकाले आर्थिक तथा सामाजिक अपराधको स्वरूप परिवर्तन हुँदै गएको प्रतिवेदनले देखाएको छ । अर्कोतर्फ, राजस्व चुहावट नियन्त्रणमा पर्सा प्रहरीले उल्लेखनीय सफलता हासिल गरेको छ। भन्सार छली, अवैध हुण्डी कारोबार, काठ तस्करी तथा नदीजन्य पदार्थको अवैध उत्खननविरुद्ध सञ्चालन गरिएको अभियानबाट ६२ करोड ९६ लाख रुपैयाँभन्दा बढी राजस्वमा योगदान पुगेको छ ।
सीमा क्षेत्र रहेको पर्सामा हुने तस्करी नियन्त्रणका लागि प्रहरीको सक्रियताले राज्यको राजस्व संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। हुण्डी कारोबारमा करोडौं रुपैयाँ बराबरको बिगो मागदाबी र दर्जनौं व्यक्तिमाथि कारबाही हुनु आर्थिक अपराधविरुद्धको प्रहरीको कडाइको संकेत हो । लागुऔषध नियन्त्रणमा पनि प्रहरीको सक्रियता उल्लेखनीय देखिएको छ । ठूलो परिमाणमा गाँजा, ब्राउन सुगर र चरेस बरामद हुनुका साथै १६३ जनालाई पक्राउ गरिएको छ ।
खुला सीमाका कारण लागुऔषध ओसारपसार हुने जोखिम उच्च रहेकाले यस क्षेत्रमा अझ प्रभावकारी निगरानी आवश्यक देखिन्छ । फरार प्रतिवादी पक्राउ अभियान पनि प्रभावकारी बनेको प्रतिवेदनले देखाएको छ । एक वर्षमै १ हजार ६० फरार प्रतिवादी पक्राउ गरी करोडौं रुपैयाँ जरिवाना असुल तथा लामो अवधिको कैद सजाय कार्यान्वयन गरिएको छ।
यसले कानुनी शासन कार्यान्वयनमा प्रहरीको सक्रियता बढेको संकेत गर्छ । सामुदायिक प्रहरी कार्यक्रम पनि उपलब्धिमूलक देखिएको छ। महिला हिंसा, बालविवाह, साइबर अपराध, लागुऔषध तथा विपद् व्यवस्थापनका विषयमा २ हजार १ सय ९७ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी ५८ हजारभन्दा बढी नागरिकलाई प्रत्यक्ष सहभागी गराइएको छ ।
यसले अपराध नियन्त्रणमा समुदायको सहभागिता बढाउने प्रयासलाई बल दिएको छ । यद्यपि प्रतिवेदनले केही गम्भीर सामाजिक चुनौती पनि उजागर गरेको छ। एक वर्षमै १२६ जनाले आत्महत्या गरेको तथ्यांक चिन्ताजनक छ। साथै बैंकिङ कसुर, ठगी र साइबर अपराधजस्ता आर्थिक अपराध बढ्दै जानुले प्रहरीसँगै बैंकिङ क्षेत्र, नियामक निकाय र सर्वसाधारणबीच वित्तीय सचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता देखिएको छ ।
समग्रमा हेर्दा पर्सा प्रहरीले आर्थिक वर्ष २०८२/०८३ मा शान्ति सुरक्षा कायम राख्ने, तस्करी नियन्त्रण गर्ने, राजस्व संरक्षण गर्ने तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरेको देखिन्छ । तर बदलिँदो अपराधको स्वरूप, विशेषगरी बैंकिङ कसुर, साइबर अपराध र आर्थिक अपराधलाई नियन्त्रण गर्न परम्परागत प्रहरी कारबाही मात्र पर्याप्त नहुने भएकाले प्रविधिमैत्री अनुसन्धान, अन्तरनिकाय समन्वय र जनचेतनामा थप जोड दिनुपर्ने आवश्यकता प्रतिवेदनले औंल्याएको छ ।

