२०८३ श्रावण ८, शुक्रबार १७:१६

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायसंग सम्बन्धीत समस्याहरु समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

शुक्रबार सिंहदरबारमा निर्यातजन्य उद्योग व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले निर्यात प्रवद्र्धनका चुनौतीका बारेमा जानकारी लिदै नीतिगत सुधार तथा समाधानमा सरकारले ध्यान दिने बताउनुभएको हो ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले निर्यातजन्य उद्योग व्यवसायमा विद्यमान समस्याका बारेमा जानकारी लिनुभएको नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष एवं उद्योग वाणिज्य महासंघ निर्यात समितिका सभापति होमप्रसाद घिमिरे जानकारी दिनुभयो ।

उहाले कच्चा पदार्थको सहज उपलब्धता, गुणस्तर मापदण्डहरूबीचको समकक्षताकायम गर्ने विषय तथा अन्य समस्याहरूबारे जानकारी गराएको बताउनुभयो । प्रधानमन्त्रीले आफ्नो सचिवालयमार्फत सम्बन्धित निकायहरूलाई तत्काल गर्न सकिने कामहरू अघि बढाउन निर्देशन दिनुभएको उहाले बताउनुभयो । त्यस्तै प्लाइवुडका ढोका, काठनिर्यातका लागि आवश्यक कार्यविधि तुरुन्त बनाएर काम अघि बढाउन निर्देशन दिनुभएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

त्यस्तै छलफलमा सहभागी नेपाल गलैंचा उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङले अमेरिका निर्यातमा देखिएको समस्याका बारेमा प्रधानमन्त्रीलाई अवगत गराइएको बताउनुभयो । उपभोक्ता सुरक्षा प्रमाणीकरण परीक्षण गर्ने प्रविधि नेपालमा नभएकाले गलैंचा निर्यातमा समस्या भएको उहाले बताउनुभयो ।

जवाफमा प्रधानमन्त्रीले सम्बन्धित निकायलाई फोन गरेर समस्या समाधानका लागि निर्देशन दिनुभएको अध्यक्ष गुरुङले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News