२०८३ श्रावण ९, शनिबार ०७:१२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सिरहा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य बब्लु गुप्ताले गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको घटनामा अन्ततः चालकलाई मात्र कारबाही गरिएको छ ।

सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भई व्यापक आलोचना भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहानले यातायात व्यवस्था ऐन, २०४९ अनुसार मोटरसाइकल चालक पिताम्बर चौधरीलाई पाँच सय रुपैयाँ जरिवाना गरेको छ ।

सो घटनापछि सार्वजनिक भएको प्रहरी विज्ञप्तिमा चालकलाई ट्राफिक नियम उल्लंघन गरेको कसुरमा कारबाही गरिएको उल्लेख छ। तर, गुडिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाउने सांसद गुप्तामाथि भने कुनै जरिवाना वा कानुनी कारबाही गरिएको छैन ।

जिल्ला प्रहरी कार्यालय, सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार विद्यमान कानुनले यात्रुलाई ट्राफिक उल्लंघनको अभियोगमा कारबाही गर्ने व्यवस्था नगरेकाले चालकलाई मात्रै जरिवाना गरिएको छ । उनले भने, ‘यात्रुलाई कारबाही गर्ने व्यवस्था ऐनमा छैन । ट्राफिक नियम उल्लंघन भएमा कारबाही चालकलाई नै हुन्छ। सोही व्यवस्थाअनुसार चालकलाई पाँच सय रुपैयाँ जरिवाना गरिएको छ ।’

सिरहा प्रहरीले चालकलाई जरिवानासंगै आगामी दिनमा यस्ता गतिविधि दोहो¥याउन नहुने भन्दै सचेतसमेत गराएको जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको भिडियोमा सांसद गुप्ता गुडिरहेको बुलेट मोटरसाइकलको पछाडि उभिएर भिडियो खिचिरहेको देखिन्छ। सडक सुरक्षाको दृष्टिले अत्यन्त जोखिमपूर्ण मानिने यस्तो गतिविधिले ट्राफिक नियम उल्लंघन गरेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । सामान्य नागरिकले यस्तै कार्य गरे कडा कारबाही हुने अवस्थामा सांसद स्वयंले नियम उल्लंघन गर्दा भने उनीमाथि कुनै कानुनी कारबाही नहुनुले ‘कानुन सबैका लागि समान हो कि होइन ? भन्ने प्रश्नसमेत उठेको छ ।

घटनापछि सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत आफूबाट ट्राफिक नियम उल्लंघन भएको स्वीकार गरेका छन् । बाल्यकाल बिताएको ठाउँमा पुगेपछि पुराना सम्झनाले भावुक बनाएको र रमाइलो गर्ने क्रममा गल्ती भएको उनको भनाइ छ । उनले फेसबुकमा पोस्ट गर्दै लेखेका छन्, ‘बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भए। त्यही खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लंघन गरेको रहेछु भन्ने कुरा मैले आफैं महसुस गरेको छु ।’

यद्यपि गल्ती स्वीकार गरे पनि उनीमाथि कुनै जरिवाना वा कानुनी कारबाही नभएकाले उनको स्वीकारोक्ति नै घटनाको अन्तिम निष्कर्ष बनेको छ । ‘जान्नेलाई छान्ने’ भन्ने नारासहित चुनाव जितेको रास्वपाका सांसदबाट सार्वजनिक सडकमा यस्तो जोखिमपूर्ण व्यवहार भएको भन्दै आलोचना भइरहेको छ ।

सामाजिक सञ्जालमा धेरैले जनप्रतिनिधिले नै कानुनको पालना गर्नुपर्नेमा उल्टै उल्लंघन गरेको भन्दै प्रश्न उठाएका छन् । पूर्वमन्त्रीसमेत रहेका गुप्ता सिरहा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनको भिडियो सार्वजनिक भएपछि ट्राफिक प्रहरीले कारबाही प्रक्रिया अघि बढाए पनि कानुनी व्यवस्थाका कारण चालकलाई मात्रै जरिवाना गरिएको छ ।

यस घटनाले यातायात व्यवस्था ऐनमा यात्रुले जानीजानी जोखिमपूर्ण गतिविधि गरे पनि उनीहरूमाथि प्रत्यक्ष कारबाही गर्न नसकिने कानुनी सीमाबारे पनि बहस शुरु भएको छ । सडक सुरक्षासंग जोडिएका यस्ता घटनामा कानुनी व्यवस्थाको पुनरावलोकन आवश्यक रहेको मतसमेत टिप्पणी हुन थालेको छ ।

Comment


Related News

Latest News

Trending News