नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको १३औँ स्मृति दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनले धक्का खाएको वर्तमान अवस्थामा पुष्पलाल र नरबहादुरजस्ता नेताहरूको योजदानको स्मरण गर्दै कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र जीवित बनाउनुपर्नेमा जोड दिनुभएको हो । उहाले राष्ट्रिय स्वाधीनतामाथि आएको सङ्कटको समाधान गर्न, निरङ्कुश प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्न र दृढ सङ्कल्पका साथ अघि बढ्न समर्पित हुनुपर्ने धारणा राख्नुभयो । प्रचण्डले पुष्पलालका सहयोद्धाको रूपमा नरबहादुर कर्माचार्यले मजदुर आन्दोलन, वर्ग सङ्घर्ष र क्रान्तिमा अहम् भूमिका खेल्नुभएको स्मरण गर्नुभयो ।
उहाले केही वर्ष मात्र सक्रिय हुनु वा त्याग गर्नु ठूलो कुरा नभएको भन्दै जीवनभर विचार, निष्ठा र उद्देश्यप्रति निरन्तर लागिरहनु गाह्रो कुरा भए पनि नरवहादुर आजीवन क्रान्तिकारी कित्तामै दृढ रहनुभएको बताउनुभयो ।

