२०८३ श्रावण १०, आईतवार ०६:३७

मेडिकल प्रवेश परीक्षा निट–यूजीको प्रश्नपत्र चुहावट तथा परीक्षामा देखिएको अनियमितताको विरोधमा देशव्यापी रूपमा चर्किएको विद्यार्थी आन्दोलनको दबाबपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधान ले शनिबार पदबाट राजीनामा दिएको विभिन्न भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

करिब ३६ दिनदेखि दिल्लीको जन्तर–मन्तरमा जारी धर्ना, भोक हडताल र प्रदर्शनले निर्णायक मोड लिएपछि उनले प्रधानमन्त्रीसमक्ष आफ्नो राजीनामा बुझाएका छन् । राजीनामाको जानकारी प्रधानले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेका छन् । उनले देशभर उत्पन्न परि स्थितिलाई ध्यानमा राख्दै विद्यार्थीको भविष्य, राष्ट्रिय एकता तथा कानुनी जटिलता टार्न आफूले नैतिक जिम्मेवारीस्वरूप पद त्यागेको बताएका छन् । उनले आफ्नो पत्रमा लेखेका छन्, “जन्तर– मन्तर र देशभर सिर्जित परिस्थितिको फाइदा राष्ट्रविरोधी तत्त्वहरूले उठाउन नसकून्, देशको एकता अक्ष्ॉण्ण रहोस् र भारतका विद्यार्थीहरू कानुनी विवादमा अल्झिनुको सट्टा आफ्नो अध्ययन तथा करिअरमा केन्द्रित हुन सकून् भन्ने उद्देश्यले मैले सम्माननीय प्रधानमन्त्रीसमक्ष आफ्नो राजीनामा पेस गरेको छु ।” निट–यूजी प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षामन्त्रीको नैतिक जिम्मेवारी रहेको भन्दै कक्रोच जनता पार्टी (सीजेपी) ले विगत ३६ दिनदेखि जन्तर–मन्तरमा आन्दोलन सञ्चालन गर्दै आएको थियो ।

आन्दोलनमा हजारौँ विद्यार्थी सहभागी भएका थिए भने सामाजिक अभियन्ता सोनम वाङ्चुक समेत केही दिन भोक हडतालमा बसेका थिए । आन्दोलनकारीहरूले शुरुदेखि नै “धर्मेन्द्र प्रधानको राजीनामाभन्दा कममा आन्दोलन अन्त्य नहुने” चेतावनी दिएका थिए । राजीनामाको घोषणापछि आन्दोलन स्थलमा विद्यार्थीहरूले उत्सव मनाएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा प्रदर्शनकारीहरू नाराबाजी गर्दै खुसी साटासाट गरिरहेको देखिन्छ । राजीनामापछि आन्दोलनको नेतृत्व गरिरहेको कक्रोच जनता पार्टी (सीजेपी) ले यसलाई विद्यार्थी आन्दोलनको ऐतिहासिक जितको रूपमा व्याख्या गरेको छ ।

पार्टीका नेता अभिजीत दीपके ले प्रतिक्रिया दिँदै भने, “धेरै मानिसहरूले यो सरकारमा कसैको राजीनामा आउँदैन भन्ने गर्थे। तर झुक्छ दुनिया, झुकाउने हुनुपर्छ। यदि जनता डराउँदैनन् र सरकारसमक्ष झुक्दैनन् भने लोकतन्त्रमा जोसुकैलाई पनि जिम्मेवार बनाउन सकिन्छ ।” सीजेपीले एक्समा पोस्ट गर्दै लेखेको छ, “विद्यार्थी शक्ति अमर रहोस्। यो विद्यार्थीहरूको संघर्षको जित हो ।” राजीनामा हुनुभन्दा एक दिनअघि सीजेपीका प्रतिनिधिमण्डलले केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंह सँग भेटवार्ता गरेको थियो । भेटपछि सरकारले निर्णयका लागि एक दिनको समय मागेको पार्टीले जनाएको थियो । आफ्नो राजीनामा पत्रमा धर्मेन्द्र प्रधानले विवादको पहिलो दिनदेखि नै आफूले जिम्मेवारी स्वीकार गरेको दाबी गरेका छन् । उनले लेखेका छन्, ‘मैले कहिल्यै जिम्मेवारीबाट भाग्ने प्रयास गरिनँ।

निट–यूजी परीक्षामा अनियमितता देखिएलगत्तै सरकारले तत्काल सीबीआईलाई अनुसन्धानको जिम्मा दिएको, परीक्षा रद्द गरेको तथा नयाँ परीक्षा सञ्चालन गरेको थियो ।” प्रधानका अनुसार मे ३ मा सम्पन्न निट– यूजी परीक्षामा अनियमितता पुष्टि भएपछि सरकारले तत्काल केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) लाई अनुसन्धानको जिम्मेवारी दिएको थियो । त्यसपछि परीक्षा रद्द गरी जुन २१ मा पुनः परीक्षा सञ्चालन गरिएको उनले उल्लेख गरेका छन् । उनले केन्द्र, राज्य सरकार तथा जिल्ला प्रशासनको समन्वयमा पुनः परीक्षा सफलतापूर्वक सम्पन्न भएको दाबी गरेका छन् । प्रधानले आफ्नो पत्रमा केही व्यक्तिहरूले विद्यार्थीलाई भ्रममा पार्ने प्रयास गरेको आरोप पनि लगाएका छन् ।

उनले कुनै व्यक्ति वा दलको नाम नलिए पनि पछिल्ला दिनहरूमा विपक्षी दलका नेताहरूमाथि निरन्तर आलोचना गर्दै आएका थिए । उनले पछिल्ला घटनाले आफूलाई व्यक्तिगत रूपमा दुःखी बनाएको उल्लेख गर्दै आफ्नो निर्णय व्यक्तिगत प्रतिष्ठाभन्दा पनि विद्यार्थीको हित र राष्ट्रिय एकतालाई प्राथमिकता दिने उद्देश्यले गरिएको बताएका छन् । उनले युवाहरूलाई भ्रामक सूचना र अफवाहबाट टाढा रहन आग्रहसमेत गरेका छन् । उता निट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर शनिबार भारतका विभिन्न राज्यमा विद्यार्थी आन्दोलन थप उग्र बनेको छ । भारतको बिहार बन्द का क्रममा पटना, सीवान, छपरा, सीतामढी, भागलपुरसहित आठ जिल्लामा हिंसात्मक झडप भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

छपरामा प्रदर्शनकारीहरूले प्रहरीको गाडीमा आगजनी गरेका छन् भने सरकारी कार्यालयमा चढेर पोस्टर च्यातेका र ब्यारिकेड भत्काएका छन् । आन्दोलनका कारण सडक अवरुद्ध हुँदा न्यायाधीशको सवारीसमेत केही समय रोकिएको थियो । पटनामा आन्दोलनमा सहभागी भएका पूर्वमन्त्री तेजप्रताप यादव लाई प्रहरीले नियन्त्रणमा लिएको छ । सीतामढीमा भएको झडपमा एक महिला प्रहरी निरीक्षक -एसआई) सहित १२ जना घाइते भएका छन् भने भागलपुरमा लाठीचार्जपछि प्रहरी नै घटनास्थलबाट पछि हट्न बाध्य भएको समाचारमा उल्लेख गरिएको छ ।

बिहारबाहेक उत्तर प्रदेश का प्रयागराज, लखनउ, सहारनपुरलगायतका शहर तथा मध्यप्रदेश का २० भन्दा बढी सहरमा पनि विद्यार्थी प्रदर्शन जारी रहेको बताइएको छ । इन्दौरमा प्रदर्शनकारीमाथि ड्रोनमार्फत निगरानी गरिएको छ । धर्मेन्द्र प्रधानको राजीनामाले निट–यूजी प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर सुरु भएको विद्यार्थी आन्दोलनलाई नयाँ राजनीतिक मोड दिएको छ ।

यद्यपि सीजेपीले भने आन्दोलन जारी नै रहने जनाएको छ ।

Comment


Related News

Latest News

Trending News