वीरगञ्जस्थित नारायणी अस्पताल र सिरहाको भगवानपुरस्थित स्वास्थ्य चौकीमा बिामीको मृत्युपछि अवस्था तनावग्रस्त बनेको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा वीरगञ्ज महानगरपालिका–२५ का ४५ वर्षीय राजकुमार पटेलको शनिबार उपचारकै क्रममा मृत्यु भएपछि उनका आफन्त र स्थानीयले आकस्मिक कक्षमा तोडफोड गरेका छन् । आक्रोशित आफन्त र स्थानीयले बिहान करिब ११ बजे अस्पतालको आकस्मिक कक्षमा प्रवेश गरी होहल्ला गर्दै तोडफोड गरेका हुन् । मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण पटेलको मृत्यु भएको आरोप लगाउँदै अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा आकस्मिक कक्षमा क्षति पुगेको र एक जना घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनापछि अस्पताल परिसर केही समय तनावग्रस्त बनेको थियो। अवस्था नियन्त्रणमा लिन अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । वडा प्रहरी कार्यालयका प्रमुख विक्रम सुवेदीका अनुसार उपचारका लागि अस्पताल ल्याइएका पटेलको मृत्युको कारणबारे यकिन जानकारी प्राप्त भइसकेको छैन । यस्तै सिरहाको भगवानपुर गाउँपालिका तनावग्रस्त बनेको छ ।
उपचारमा ढिलाइ भएको तथा एम्बुलेन्स समयमै उपलब्ध नगराइएको आरोप लगाउँदै आक्रोशित स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड गर्नुका साथै हुलाकी सडक अवरुद्ध गरेका छन् । भगवानपुर गाउँपालिका–४, कल्याणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएका सप्तरीको बलान बिहुल गाउँपालिकाका अरुण मण्डलका छोरा रोशन मण्डललाई समयमै थप उपचारका लागि रिफर गर्न नसकिएको स्थानीयले आरोप लगाएका छन् । स्थानीयका अनुसार, एम्बुलेन्स चालकले गाउँपालिका अध्यक्ष उग्र नारायण यादवको अनुमति बिना एम्बुलेन्स सञ्चालन गर्न नमिल्ने बताएपछि उपचारमा ढिलाइ भएको र बाटोमै मृत्यु भएको आफन्तहरूको दाबी छ ।
घटन ा प िछ आक्रोशित स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड गरेका छन् भने हुलाकी सडकमा टायर र दाउरा बालेर अवरुद्ध गरेका छन् । सडक अवरुद्ध हुँदा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ । स्थानीयका अनुसार, बिहान ११ बजे गाउँपालिका अध्यक्षसँग वार्ता गर्ने सहमति भए पनि अध्यक्ष वार्तास्थलमा नपुगेपछि आन्दोलन थप चर्किएको हो । आन्दोलनका अगुवा प्रविन्द यादव र इन्दल मण्डलले अध्यक्ष वार्तामा नआएको भन्दै असन्तुष्टि जनाएका छन् । स्थिति नियन्त्रणमा लिन घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रमेश बहादुर पालले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

