२०८३ श्रावण १०, आईतवार ११:०४

बाराको करैयामाई गाउँपालिका–८ स्थित नरही चोकदेखि इटहर जाने सडकखण्डमा अज्ञात मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार शनिवार राति करिब ११ बजे नम्बर नखुलेको मोटरसाइकलले पैदलयात्री उमेश साह सोनार र पवन साह सोनारलाई ठक्कर दिएको थियो। दुर्घटनापछि मोटरसाइकल चालक घटनास्थलबाट फरार भएका छन्।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी गञ्जभवानिपुरबाट सई बहादुर प्रसाद यादवको नेतृत्वमा टोली खटिएको थियो। प्रहरीले दुवै घाइतेको उद्धार गरी उपचारका लागि वीरगञ्जस्थित न्युरो अस्पताल पठाएको थियो।

जिल्ला प्रहरी प्रवक्ता मिन बहादुर घलेका अनुसार उपचारकै क्रममा आज बिहान करिब १ बजेट २० मिनेटमा करिब २५ वर्षीय उमेश साह सोनारको मृत्यु भएको छ। उनको शव हाल न्युरो अस्पतालमै राखिएको छ।

दुर्घटनामा घाइते बाराको विश्रामपुर गाउँपालिका–५, इटियाही निवासी करिब ४० वर्षीय पवन साह सोनारको टाउकोमा गम्भीर चोट लागेको छ। उनको अस्पतालको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

फरार मोटरसाइकल चालक तथा सवारी साधनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Comment


Related News