रौतहटको फतुवा विजयपुर नगरपालिकास्थित अरुवा खोलामा नुहाउने क्रममा डुबेर एक ९ वर्षीय बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार फतुवा विजयपुर नगरपालिका–५ सन्तपुर टोल निवासी शेख मुन्नाका ९ वर्षीय छोरा शेख तमिन शनिबार दिउँसो करिब १ बजे मन्जुरघाटस्थित अरुवा खोलामा नुहाउने क्रममा डुबेका थिए।
घटनाको जानकारी भने राति करिब ९ बजे स्थानीयवासीले इलाका प्रहरी कार्यालय सन्तपुर–लक्ष्मिनियालाई दिएका थिए। सूचना प्राप्त हुनासाथ सई विनोद पासवानको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसअघि नै स्थानीयवासीले बालकको शव खोलाबाट बाहिर निकाली सुरक्षित राखेका थिए।
पछि प्रहरी निरीक्षक रादेश कुमार खत्रीको नेतृत्वमा अर्को टोली घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरेको प्रहरीले जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो। आइतबार बिहान पोस्टमार्टम सम्पन्न भएपछि मृतकका फुपाजु शेख हसमुदिनले शव बुझेर अन्त्येष्टिका लागि लगेका छन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

