जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भारत र बंगलादेश नेपालबाट विद्युत् खरिद गर्न इच्छुक भए पनि उत्पादन वृद्धि हुन नसक्दा ठूलो अवसर गुमिरहेको बताएका छन् ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले नेपालले अन्तर्राष्ट्रिय बजारको मागअनुसार विद्युत् उत्पादन गर्न नसकेको बताए । नेपालले करिब ८७ प्रतिशत वस्तु आयात र १३ प्रतिशत मात्र निर्यात गर्ने अवस्था रहेकाले व्यापार घाटा कम गर्न जलस्रोतको उपयोगमार्फत विद्युत् उत्पादन र निर्यातलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
‘हामी करिब ८७ प्रतिशत आयात गर्छौं, १३ प्रतिशत मात्रै निर्यात गर्छौं । व्यापार घाटा कम गर्ने सबैभन्दा ठूलो उपाय भनेकै जलस्रोतको उपयोग र विद्युत् उत्पादन हो । भारत र बंगलादेश दुवै नेपाली विद्युत् किन्न तयार छन्, तर हामी उत्पादन नै बढाउन सकेका छैनौं,’ अध्यक्ष यादवले भने ।
उनले बंगलादेशले ठूलो परिमाणमा नेपाली विद्युत्को अपेक्षा गरिरहेको र भारतलाई पनि स्वच्छ ऊर्जाको आवश्यकता रहेकाले विद्युत् निर्यातको पर्याप्त सम्भावना रहेको उल्लेख गरे । तर नेपालमा आयोजना कार्यान्वयन र उत्पादन विस्तारको गति अत्यन्तै सुस्त रहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
यादवका अनुसार आयोजना निर्माणमा पटक–पटक ठेक्का रद्द हुने, निर्माण कम्पनी परिवर्तन भइरहने तथा काम अधुरै छाडिने प्रवृत्तिले उत्पादन विस्तारमा बाधा पुगेको छ ।
‘एउटालाई ठेक्का दिने, फेरि रद्द गर्ने, अर्को ल्याउने, आधा काम गरेर छाड्ने प्रवृत्तिले हामी अल्मलिएका छौं । उत्पादन बढाउन सके मात्रै विद्युत् व्यापारबाट मुलुकको आर्थिक अवस्था सुधार्न सकिन्छ,’ उनले भने ।
उनले विगतमा सुरक्षा तथा रणनीतिक कारण देखाउँदै भारतले चिनियाँ लगानीमा उत्पादित नेपाली विद्युत् खरिदमा अनिच्छा देखाएको स्मरण गराउँदै अहिले परिस्थिति बदलिएको बताए । चीन–भारतबीच व्यापार र लगानी विस्तार भइरहेकाले नेपालले प्रभावकारी कूटनीतिक पहल गरे विद्युत् निर्यातमा देखिएका अवरोध हटाउन सकिने उनको विश्वास छ ।
‘अहिले परिस्थिति बदलिएको छ । चीन र भारतबीच व्यापार र लगानी बढेको छ । नेपालले उचित पहल गर्न सके चिनियाँ लगानीमा उत्पादित विद्युत् निर्यातमा पनि समस्या रहँदैन भन्ने मलाई लाग्छ,’ उनले भने ।
अध्यक्ष यादवले नेपालको बढ्दो व्यापार घाटा कम गर्ने सबैभन्दा प्रभावकारी माध्यम जलस्रोतको उपयोग गरी विद्युत् उत्पादन र व्यापार विस्तार नै भएको बताए । विद्युत् उत्पादनसँगै सिँचाइ र खानेपानी क्षेत्रमा पनि जलस्रोतको प्रभावकारी उपयोग गर्न सके नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रतर्फ अघि बढाउन महत्वपूर्ण योगदान पुग्ने उनको दाबी छ ।
यस्तै, उनले चुरे संरक्षणमा विशेष ध्यान दिन सरकारसँग आग्रह गरे । चुरे क्षेत्रमा भइरहेको दोहन र वन फँडानीका कारण जलस्रोतमा समस्या देखिएको भन्दै उनले जलवायु परिवर्तन र चुरे विनाशका कारण हिमालमा हिउँ घट्दै जानु तथा तराईमा सुख्खापन बढ्दा खानेपानी, सिँचाइ र ऊर्जा क्षेत्रमा गम्भीर असर परेको बताए ।
‘चुरे संरक्षण नगरे जलस्रोत, खानेपानी, सिँचाइ र ऊर्जामा थप समस्या आउँछ । प्राकृतिक स्रोतको सही उपयोग गर्दै चुरे जोगाउन राज्यले गम्भीर भएर काम गर्नुपर्छ,’ उनले भने ।

