मल किन्न भारतीय बजार गएका सर्लाहीका दुई नेपाली किसान २६ दिनदेखि भारतीय जेलमै रहँदा पनि सरकारले कुनै चासो देखाएको छैन । असार १७ गते पक्राउ परेका बलरा–५, सर्लाहीका सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह अझै छुटेका छैनन् । उनीहरूलाई असार १८ गते जेल चलान गरिएको थियो ।
भारतको सीतामढी जिल्लाको सोनबरसाबाट खेतमा हाल्ने डिएपी र युरिया मल सहित पक्राउ परेका उनीहरू एक हप्ता अगावै छुट्ने देखिदैन । रिहाईको माग राखेर दर्ता गत शुक्रबार अदालतमा निवेदन दर्ता भएको सुरेशप्रसादका छोरा अविनाश सिंहले जानकारी दिए । निवेदनमाथिको सुनुवाई ३१ जुलाई -१५ साउन)का लागि तोकिएको छ । ‘वकिलले सुनुवाईपछि रिहा हुने आश्वासन दिनु भएको छ,’ अविनाश भन्छन्, ‘बुबा र ठूलो बुबा छुट्न ३१ तारिख अर्थात् एक हप्ता अझै कुर्नुपर्ने भयो ।’ ती दुई किसानलाई छोडाउन नेपाल सरकारबाट कुनै ठोस पहल अघि बढाइएको छ । मल उपलब्ध गराउन नसके पछि भारत जान बाध्य भएका किसानलाई छुटाउन सरकारले पहल गर्नुपर्ने मानवअधिकारकर्मीहरू बताउँछन् ।
मधेश मानवअधिकार होमका संस्थापक रवि ठाकुर सिंहद्वयलाई छुटाउन नेपाल सरकारले पहल गर्नुपर्नेमा जोड दिन्छन् । सरकारले मल उपलब्ध गराउन नसकेपछि प्रशासनले सीमा नाकामा अलि खुकुलो गर्ने संकेत गरेकाले किसानहरू ढुक्क भएर भारतीय बजार पुगेको हुनसक्ने ठाकुर बताउँछन् । उनी भन्छन्, ‘नेपाल सरकारले चाहने हो भने हाम्रा किसानहरू अनाहकमा त्यसरी थुनिएर बस्नु पर्ने थिएन । आफ्नो नागरिकको पक्षमा बोल्न सरकारले खुट्टा कमाउनु भएन ।’ सजिलै मल किन्न नपाउँदा सीमा क्षेत्रका धेरै कृषकहरू भारतीय बजारमा निर्भर हुनु परेको अविनाश बताउँछन् । उनी भन्छन्, ‘मल यही उपलब्ध हुने हो भने कोही पनि जोखिम मोलेर सीमापारी मल्ल किन्न जाँदैन ।’

