पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादले उग्ररुप लिएपछि अस्पतालमा तोडफोड भएको छ । अस्पतालमा तोडफोड तथा चिकित्सकमाथिको आक्रमण भएको सार्वजनिक भएपछि उक्त घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ ।
सो समितिले एक साताभित्र प्रतिवेदन बुझाउने र प्रतिवेदनका आधारमा दोषी देखिएकामाथि आवश्यक कानुनी कारबाही गरिने प्रशासनले जनाएको छ । शनिबार बिहान वीरगञ्ज महानगरपालिका–२५ का ४५ वर्षीय राजकुमार पटेललाई छाती दुख्ने समस्या भएपछि उपचारका लागि नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएपछि आक्रोशित आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा प्रवेश गरी तोडफोड गरेका थिए । मृतकका भतिज विकास पटेलले अस्पतालमा आवश्यक इसिजी उपकरण तथा अन्य अत्यावश्यक उपचार सामग्री उपलब्ध नभएको, चिकित्सकले केही औषधि लेखिदिए पनि आवश्यक उपचार समयमै हुन नसकेको आरोप लगाए ।
यसका साथै, अक्सिजनको सहारामा रहेका बिरामीलाई स्थानान्तरण गर्ने क्रममा अक्सिजन हटाइएका कारण मृत्यु भएको दाबी पनि आफन्तको छ । घटनाको निष्पक्ष छानबिनका लागि गठित समितिमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार राम, नारायणी अस्पतालका डा. निरजकुमार सिंह, वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी, मृतक पक्षका प्रतिनिधि विकास पटेल र अस्पताल प्रशासनका प्रतिनिधि सुनिलकुमार रोनियार सदस्य रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक समितिका संयोजक छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लले दिएको जानकारी अनुसार उक्त समितिले एक साताभित्र प्रतिवेदन बुझाउनेछ । सो प्रतिवेदनका आधारमा दोषी देखिएकामाथि आवश्यक कारबाही गरिने उनले बताए ।
घटनापछि नारायणी अस्पताल प्रशासनले उपचारमा संलग्न पाँच जना स्वास्थ्यकर्मीलाई छानबिन प्रतिवेदन नआएसम्मका लागि जिम्मेवारीबाट हटाइएको छ । अस्पताल प्रशासनले छानबिनबाट प्राप्त निष्कर्षका आधारमा थप निर्णय गरिने जनाइएको छ । यसैबीच घटनाका क्रममा अस्पतालको आकस्मिक कक्षमा तोडफोड हुनुका साथै उपचारमा संलग्न मेडिकल अफिसर डा. प्रमोद राममाथि पनि आक्रमण भएको थियो । जिल्ला प्रहरी कार्यालय पर्साले जनाए अनुसार तोडफोडका क्रममा स्थानीय बिटमा खटिएका प्रहरीमाथि हातपात गर्ने एक जनालाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उता, नेपाल चिकित्सक संघले घटनाको कडा शब्दमा भत्र्सना गर्दै दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेको छ । संघले आइतबार जारी गरेको विज्ञप्तिमा शनिबार बेलुका करिब ४० देखि ५० जनाको समूहले मेडिकल अफिसर डा. प्रमोद राममाथि मरणासन्न हुनेगरी सांघातिक आक्रमण गरेको उल्लेख गरेको छ । संघले जनाए अनुसार शनिबार बिहान मुटुसम्बन्धी समस्याका बिरामीको मृत्यु भएपछि घटनाको यथार्थ नबुझी अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरिएको र सोही क्रममा चिकित्सकमाथि आक्रमण भएको छ ।
स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रमा भएको यस्तो घटनाले स्वास्थ्यकर्मीको सुरक्षा र सेवा प्रवाहमा गम्भीर असर पर्ने भन्दै संघले दोषीलाई अविलम्ब कानुनको दायरामा ल्याइ कडा कारबाही गर्न तथा स्वास्थ्यकर्मीलाई सुरक्षित र भयरहित वातावरणमा सेवा दिने अवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । बिरामीका आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै निष्पक्ष छानबिन र जिम्मेवारमाथि कारबाहीको माग गरेका छन् भने चिकित्सक संघले स्वास्थ्यकर्मीमाथिको आक्रमणलाई आपराधिक कार्यको संज्ञा दिँदै दोषीलाई कानुनबमोजिम कारबाही गर्न आग्रह गरेको छ ।

