रौतहटको गुजरा नगरपालिका–२ चोचामा लुकाइछिपाइ राखिएको अवैध साल जातको गोलिया काठ वन तथा सुरक्षा निकायको संयुक्त टोलीले बरामद गरेको छ।
चोचा सब-डिभिजन वन कार्यालयका प्रमुख अनिल कुमार महतोको नेतृत्वमा सशस्त्र प्रहरी बल ९एपीएफ० जङ्गलसैयाँको संयुक्त गस्ती टोलीले आइतबार दिउँसो करिब १२ः४५ बजे नियमित गस्तीका क्रममा उक्त काठ फेला पारेको हो।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख मनोज कुमार ठाकुरका अनुसार घटनास्थलबाट तीन थान सालको गोलिया काठ बरामद गरिएको छ, जसको परिमाण १४।५७ क्युबिक फिट रहेको छ। बरामद काठको अनुमानित बजार मूल्य करिब ६० हजार रुपैयाँ रहेको उनले बताए।
बरामद काठलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न चोचा सब-डिभिजन वन कार्यालयको परिसरमा सुरक्षित राखिएको छ। काठ तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि खोजी कार्य तीव्र पारिएको वन कार्यालयले जनाएको छ।

