‘पिक आवर’मा विद्युतको अधिकतम माग ३ हजार २४८ मेगावाट पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार देशभित्रको विद्युत् आपूर्ति पर्याप्त रहेकाले भारतबाट कुनै पनि बिजुली आयात गरिएको छैन भने नेपालले निरन्तर विद्युत् निर्यात गरिरहेको छ ।
प्राधिकरणका तथ्यांकअनुसार देशको कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा पुगेको छ । यसमध्ये २२ हजार १०२ मेगावाट घण्टा बराबरको विद्युत् भारततर्फ निर्यात भइरहेको छ । देशको विद्युत् आपूर्तिमा निजी क्षेत्रको योगदान सबैभन्दा बढी देखिएको छ ।
निजी ऊर्जा उत्पादकहरूले ४७ हजार ५६३ मेगावाट घण्टा बराबर विद्युत् राष्ट्रिय प्रणालीमा उपलब्ध गराएका छन् । त्यस्तै, प्राधिकरणका सहायक कम्पनीहरूबाट १७ हजार १०८ मेगावाट घण्टा तथा प्राधिकरणका आफ्नै जलविद्युत् आयोजनाबाट ८ हजार ९५९ मेगावाट घण्टा बराबर ऊर्जा उत्पादन भएको छ ।
प्राधिकरणका अनुसार देशभित्रको कुल राष्ट्रिय विद्युत् खपत ५१ हजार ५२७ मेगावाट घण्टा रहेको छ । वर्षायामका कारण जलविद्युत् उत्पादनमा सुधार आएपछि आन्तरिक माग पूरा गर्नुका साथै अतिरिक्त विद्युत् निर्यात गर्न सकिएको जनाएको छ ।
वर्षाका कारण अहिलेसम्म विद्युत् प्रसारण तथा वितरण प्रणालीमा कुनै ठूलो अवरोध नआएको पनि प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सम्भावित प्राकृतिक विपद् वा प्राविधिक समस्या देखिए तत्काल मर्मतसम्भार गर्न सातै प्रदेशका कार्यालय तथा काठमाण्डौमा प्राविधिक टोलीलाई २४सै घण्टा तयारी अवस्थामा राखिएको छ ।
आन्तरिक उत्पादन वृद्धि, निजी क्षेत्रको बढ्दो सहभागिता र विद्युत् निर्यातको निरन्तरताले नेपालको ऊर्जा क्षेत्रमा आत्मनिर्भरता थप मजबुत बन्दै गएको संकेत देखिएको छ ।

