२०८३ श्रावण १२, मंगलवार ०६:२३

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यार्थीलाई पढाईसँगसँगै खेलकुदसहित सर्वाँगीन विकास हुन जरुरी रहेको बताएका छन् ।

सोमवार जनकपुरधामस्थित श्री संकटमोचन देवशरण रामरती माध्यमिक विद्यालयको निरिक्षण गर्दै यस्तो बताएका हुन् । उनले भने विद्यालयमा अध्ययनसँगै खेलकुदलाई समान महत्व दिनुपर्ने उल्लेख गर्दै विद्यार्थीको सर्वाँगीण विकासका लागि आवश्यक खेलकुद आवश्यक रहेकाले सरकारले खेलकुद सामग्री तथा पूर्वाधार विस्तारलाई सरकारले प्राथमिकतामा राखेको बताए । सो विद्यालयका विद्यार्थीहरूलाई खेलकुद सामग्री वितरण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री पोखरेलले शिक्षा क्षेत्र सुधारका लागि सरकार बहुआयामिक रूपमा काम गरिरहेको बताए ।

उनले हालै राजर्षी जनक विश्वविद्यालयका उपकुलपतिसँग भेटवार्ता गरी विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार, प्रशासनिक व्यवस्थापन तथा भौतिक पूर्वाधार विकासका विषयमा विस्तृत छलफल भएको जानकारी समेत दिए । राजर्षी जनक विश्वविद्यालयको आफ्नै भवन निर्माण, घेराबार तथा जग्गा व्यवस्थापनका विषयलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको उल्लेख गर्दै उनले देखिएका समस्याहरू क्रमशः समाधान हुँदै गएको बताए । ‘विश्वविद्यालयलाई थप व्यवस्थित, गुणस्तरीय र प्रतिस्पर्धी बनाउन आवश्यक सबै पक्षसँग समन्वय भइरहेको छ । भौतिक पूर्वाधारदेखि शैक्षिक वातावरण सुधारसम्मका विषयलाई सरकारले गम्भीरतापूर्वक अघि बढाइरहेको छ,’ मन्त्री पोखरेलले भने ।

उनले मधेश प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने प्रक्रियासमेत अन्तिम चरणमा पुगेको जानकारी दिदैँ सो विषयमा तयार गरिएको प्रतिवेदन प्रदेश सरकारलाई बुझाइसकिएको उल्लेख गर्दै त्यसको कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढिरहेको उनले बताए । ‘साक्षर प्रदेश घोषणाका लागि आवश्यक प्रतिवेदन तयार भइसकेको छ । प्रदेश सरकारलाई हस्तान्तरण पनि गरिसकिएको छ । यसमा सकारात्मक प्रगति भइरहेको छ र आवश्यक प्रक्रिया पूरा गर्दै हामी अगाडि बढिरहेका छौं,’उनले भने । साक्षर प्रदेश घोषणाको वर्तमान अवस्थाबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा अझै धेरै चुनौती रहे पनि ती चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै सरकार अघि बढिसकेको बताए ।

उनले शिक्षा क्षेत्रमा संरचनागत सुधार, गुणस्तरीय शिक्षण सिकाइ, विद्यालय व्यवस्थापन, शिक्षक क्षमता विकास तथा विद्यार्थीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखिएको जनाए । ‘समस्या छन्, चुनौती छन् । तर, त्यसको समाधान खोज्दै हामी निरन्तर काम गरिरहेका छौं । शिक्षा क्षेत्रलाई परिणाममुखी बनाउन सरकार दृढ छ,’उनले स्पष्ट पारे । मन्त्री पोखरेलले सरकारले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानमा ढिलाइ नगर्ने नीति अवलम्बन गरेको उल्लेख गर्दै कुनै पनि विषय सार्वजनिक भएलगत्तै त्यसको समाधानका लागि सम्बन्धित निकायलाई सक्रिय बनाइने बताए ।

उनले पछिल्लो समय सार्वजनिक भएको प्रश्नपत्र बाहिरिएको घटनाको उदाहरण दिँदै सरकार र सम्बन्धित निकायले तत्कालै आवश्यक प्रक्रिया अघि बढाएको तथा २४ घण्टाभित्रै मुख्य आरोपी पक्राउ परिसकेको जानकारी दिदैँ घटना बारे थप अनुसन्धान जारी रहेको बताए । यसअघि विद्यालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले भलिबल, क्रिकेट, ब्याडमिन्टन लगायत विभिन्न खेलकुद सामग्री विद्यार्थीहरूलाई कक्षा कोठामा आफै हस्तान्तरण गरेका थिए ।

मन्त्री पोखरेलले देशभरका सामुदायिक विद्यालयमा खेलकुद गतिविधि विस्तार, आवश्यक सामग्री उपलब्ध गराउने, विद्यालयस्तरीय प्रतियोगिता सञ्चालन गर्ने तथा प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिदैँ सोही क्रममा जनकपुरधाम आएको बताए ।

Comment


Related News

Latest News

Trending News