पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट, अस्पतालमा भएको तोडफोड तथा आन्दोलनरत चिकित्सकमाथि प्रहरीबाट दुव्र्यवहार भएको आरोपपछि नेपाल चिकित्सक संघले मंगलबार देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ ।
आन्दोलनका क्रममा नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा समेत दिएका छन् । नेपाल चिकित्सक संघले मंगलबार विज्ञप्ति जारी गर्दै देशभरका सरकारी अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा स्थगित गर्ने घोषणा गरेको छ । संघले साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको विरोधमा आन्दोलन शुरु गरेको जनाएको छ ।
संघले उक्त घटनामा डा. प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको थियो भने अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरू पनि घाइते भएको जनाएको छ । घटनामा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अनुसार कारबाही गर्न संघले माग गर्दै आएको छ । संघले घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहालको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सुदीपराज पाठकले प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य तथा नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकहरूमाथि गालीगलौज र दुव्र्यवहार गरेको आरोप लगाएको छ ।
यस घटनालाई चिकित्सकहरूको मानमर्दन भएको भन्दै संघले एसपी पाठक र प्रमुख जिल्ला अधिकारी दाहालमाथि समेत कारबाहीको माग गरेको छ । आन्दोलनका थप कार्यक्रम सर्वपक्षीय भेलापछि सार्वजनिक गरिने संघले जनाएको छ । आन्दोलनका कारण अस्पताल पुगेका बिरामीहरू उपचार नपाई फर्किन बाध्य भएका छन् । दैलेखका रामप्रसाद दाहाल वीर अस्पतालमा शल्यक्रियाका लागि तोकिएको मितिमा बिहानै पुगेका थिए। तर ओपिडी सेवा बन्द भएपछि उनको शल्यक्रिया अनिश्चित बनेको छ । उनले भने, “साउन ६ गते आउँदा आजको मिति दिनुभएको थियो । तर आज सेवा बन्द रहेछ । अब कहिले उपचार हुन्छ भन्ने थाहा छैन । एक हप्ता वा त्योभन्दा बढी कुर्नुपर्ने हुन सक्छ । दैलेखबाट बिदा मिलाएर आएको थिएँ, अब बिदा पनि सकिन लागेको छ।
आन्दोलनको विकल्प खोजिएको भए बिरामीले यस्तो सास्ती भोग्नुपर्दैनथ्यो ।” त्यस्तै भारतको रक्सौलबाट काठमाण्डु उपचारका लागि आएकी सफ्रोन खातुन एमआरआई रिपोर्ट देखाउन वीर अस्पताल पुगेकी थिइन् । मंगलबार साँझ फर्किने टिकटसमेत काटिसकेकी उनी सेवा बन्द भएको थाहा पाएपछि अन्योलमा परेकी छन् । चिकित्सकहरूको आन्दोलनपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवा नरोक्न आग्रह गरेको छ । मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको अपिलमा स्वास्थ्य सेवाको संवेदनशीलता, चिकित्सक पेशाको गरिमा तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै नागरिकको उपचारमा कुनै अवरोध नआउने गरी निर्वाध रूपमा स्वास्थ्य सेवा सञ्चालन गर्न सबै अस्पताललाई अनुरोध गरिएको छ ।
मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुव्र्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ । यता आन्दोलनकै क्रममा वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक रूपमा राजीनामा दिएका छन् । गत शनिबार अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा बुझाएका छन् । उनीहरूले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका थिए ।
माग पूरा नभएपछि सामूहिक राजीनामाको निर्णय गरिएको चिकित्सकहरूको भनाइ छ । बालरोग विशेषज्ञ डा. रामसुफल रामका अनुसार अस्पतालमा कार्यरत करिब ७० चिकित्सकमध्ये सोमबार राति १० बजेसम्म ३० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका थिए । “अहिलेसम्म करिब ६५ जना चिकित्सकले राजीनामा बुझाइसकेका छन् । बाँकीले पनि मंगलबार बुझाउनुहुन्छ होला,” उनले बताए । चिकित्सकहरूले आफ्ना माग सम्बोधन नभए देशभरका चिकित्सकहरूले समेत सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । आन्दोलन लम्बिए देशभरका अस्पतालको नियमित सेवा थप प्रभावित हुने र त्यसको प्रत्यक्ष असर सर्वसाधारण बिरामीमाथि पर्ने देखिन्छ ।
तर चिकित्सकहरुले भने सेवा प्रवाह कार्य नै ठप्प गरेर आन्दोलन गर्नु दुःखद रहेको टिप्पणी समेत हुन थालेको छ ।

