सरहाको सुखीपुर नगरपालिका अन्तर्गत रहेको नगर अस्पतालका प्रमुख डा. लुस्युनकुमार यादवले साउन महिनाभरिको हाजिरी एकैदिन गरेको आरोप लागेको छ ।
अस्पतालको हाजिरी रजिस्टरमा साउन २८ गतेसम्मको उपस्थितिमा एकैपटक हस्ताक्षर गरिएको देखिएको छ । हाजिरी रजिस्टरको प्रतिलिपि अनुसार डा. यादवले आधा महिना पनि नबित्दै साउन २८ गतेसम्मको हाजिरी गरेका छन् । अस्पताल स्रोतको अनुसार उक्त हस्ताक्षर असार महिनाकै पहिलो सातामा गरिएको छ । अस्पतालका एक कर्मचारीका अनुसार डा. यादवले दैनिक हाजिरी नगरी दुई–तीन महिनाको हाजिरी एकैपटक गर्ने गरेका छन् ।
ती कर्मचारीले डा. यादव अस्पतालमा कहिलेकाहीँ मात्र आउने भए पनि पूरा उपस्थितिको हाजिरी हुने गरेको दाबी गरेका छन् । करिब चार वर्षअघि करार सेवाअन्तर्गत नवौं तहमा नियुक्त भएका डा. यादव सुखीपुर नगरपालिकाका मेयर रामऔतार यादवका छोरा हुन् । कर्मचारीको अनुसार नगर प्रमुखका छोरा भएकाले अस्पतालभित्र उनको कार्यशैलीबारे प्रश्न उठाउने वातावरण नरहेको छ ।
यस विषयमा प्रतिक्रिया माग्दा डा. यादवले आरोप अस्वीकार गरेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चयचन्द्र साहले भने उक्त विषय आफ्नो जानकारीमा नरहेको प्रतिक्रिया दिएका छन् ।
यता मेयर रामऔतार यादवले भने यस विषयमा बोल्न चाहेनन् ।

