गुठी संस्थान अन्तर्गत रहेका विभिन्न सातवटा पोखरीको अतिक्रमित डिल तथा जग्गा चाँडै नै खाली गराइने बताइएको छ ।
साउन १ गते गुठी संस्थान कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार ती पोखरीहरुलाई अतिक्रमणमुक्त गराउन गुठी संस्थानका प्रशासक शैलेश राज कुँवर नेतृत्वको टोली मंगलबार जनकपुरधाम आइपुगेको छ । ती टोलीलाई जनकपुरधाम उपमहानगरपालिकाका पदाधिकारीहरुसँग भेटघाट गरेका छन् । उपमहानगरपालिकामा आयोजित भेटघाटमा नगरप्रमुख मनोजकुमार साह, प्रमुख प्रशासकीय अधिकृत ज्ञानहरि घिमिरे तथा कार्यपालिका सदस्य राकेश विक्रम साहले गुठी संस्थानको टोलीलाई स्वागत गरेका थिए ।
भेटका क्रममा जनकपुरधामभित्र रहेका गुठीका जग्गा तथा पोखरी संरक्षण, अतिक्रमण हटाउने प्रक्रिया र आगामी कार्ययोजनाबारे छलफल भएको बताइएको छ । जनकपुरधामका ऐतिहासिक तथा सार्वजनिक पोखरी संरक्षण अभियानलाई अघि बढाउने उद्देश्यले टोली जनकपुरधाम आएको बताइएको छ । उपमहानगरपालिकाका अनुसार बुधवार बिहान बस्ने संयुक्त बैठकपछि पहिलो चरणमा रेखाङ्कन सम्पन्न भइसकेका सात वटा पोखरी क्षेत्रबाट बुधबारदेखि अतिक्रमण हटाउने अभियान सुरु गरिने तयारी गरिएको छ ।
गुठी संस्थानले पहिलो चरणमा रत्न सागर पोखरी, मुरलीसर, अरगज्जा पोखरी, दिर्घिका सर, दशरथ तलाउ र गोडधोई पोखरीको अतिक्रमित डिल खाली गराइने सूचना प्रकाशन गरेको थियो । पोखरी क्षेत्रको संरक्षण, सार्वजनिक सम्पत्तिको व्यवस्थापन तथा अतिक्रमण नियन्त्रणका लागि गुठी संस्थान र जनकपुरधाम उपमहानगरपालिकाबीच समन्वयात्मक रूपमा अभियान सञ्चालन गरिने जनाइएको छ । ९ सदस्यीय रहेको सो टोलीमा मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्रालयका उपसचिव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत र एक जना केन्द्रिय संस्कृति मन्त्रालयको पदाधिकारी थप गरी १२ सदस्यीय टोली बनाइएको छ ।
स्थानीय तहले ऐतिहासिक तथा धार्मिक महत्वका पोखरीहरूको संरक्षणलाई प्राथमिकतामा राख्दै आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ ।

