२०८३ श्रावण १४, बिहीबार १६:४८

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको छानविन गर्न माग गर्नुभएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रचण्डले देवानगञ्जमा सुरक्षा निकायको भूमिकामाथि गम्भीर प्रश्न उठेको भन्दै घटनाको वास्तविकता बाहिर ल्याउन विस्तृत अध्ययनको माग गर्नुभयो ।

‘बोलबम’ धार्मिक यात्राका क्रममा भएको विवादले साम्प्रदायिक रूप लिन सक्ने भन्दै उहाले चिन्ता व्यक्त गर्नुभयो । प्रचण्डले मुलुकमा देखिएका समस्या समाधानका लागि पुराना नेताको अनुभव लिन, संवाद गर्न सुझाव पनि दिनुभयो । उहाले अहिले पुराना नेताको अनुभव लिन, संवाद गर्न आफ्नै अंहकारले रोकेको हो कि के हो ? भन्दै प्रश्न गर्नुभयो । प्रचण्डले ठूलठूला अपठ्यारा परिस्थितिहरूलाई निकास दिने हैसियत, क्षमता राख्ने नेताहरूको पङ्क्ति रहेकाले अनुभव लिनका लागि कन्जुस्याइँ नगर्न आग्रह गर्नुभयो । उहाले सुकुम्बासी समस्या, ट्रेड युनियन अधिकार, विद्यार्थीका मुद्दा, र राष्ट्रिय स्वाधीनता (भौगोलिक सिमाना) जस्ता संवेदनशील विषयमा सरकार चुकेको आरोप लगाउनुभयो ।

प्रचण्डले लगानी, उत्पादन, रोजगारी, पुँजीगत खर्च, राजस्व संकलन, र कर प्रणाली जस्ता आर्थिक सवालमा सरकारले जनतालाई झन् निराश बनाएको र पुराना सरकारभन्दा पनि पछि परेको जस्तो देखिएको टिप्पणी गर्नुभयो । सरकारका पछिल्ला काम कारबाहीहरू निरंकुशतातिर उन्मुख भएको हो कि भन्ने आशङ्का उत्पन्न भएको उहाको भनाइ छ ।

प्रचण्डले नेपाललाई असफल राष्ट्र बन्नबाट जोगाउन, राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, सुशासन र समृद्धिका लागि कांग्रेस, एमाले लगायतका सम्पूर्ण दलहरू एकताबद्ध हुनुपर्ने बताउनुभयो । प्रधानमन्त्रीका कतिपय अभिव्यक्तिले राजनीतिक वृत्तमा असहजता सिर्जना गरेको भन्दै उहाले प्रधानमन्त्रीले संसदको रोस्टममा उभिएर स्पष्टीकरण दिनुपर्ने धारणा राख्नुभयो ।

Comment


Related News

Latest News

Trending News