२०८३ श्रावण १४, बिहीबार २१:५४

प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीलगायतका जिल्लामा भएको घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सुनसरीको देवानगञ्ज, सिरहा, धनुषालगायतका जिल्लामा विकसित घटनालाई लिएर केहीबेर अघि राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले निष्पक्ष छानबिन हुने बताउनुभएको हो ।

सुनसरीमा गएको आइतवार भएको घटना र त्यसपछि उत्पन्न वातावरणप्रति सरकार पूर्णरूपमा गम्भीर र संवेदनशील रहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री शाहले सुनसरीलगायतका जिल्लामा देखिएको तनाव अन्त्य गर्न सबै पक्षले आ-आफ्नो ठाउँबाट पहल गर्न अपील गर्नुभएको छ ।

‘हाम्रो इतिहास साक्षी छ- कठिनभन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रा सबैभन्दा ठूला शक्ति बनेका छन् । हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्ने छ’, शाहले भन्नुभयो ।

प्रधानमन्त्री शाहले संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्तिको प्रचारप्रसार नगर्न अनुरोध गर्नुभयो । साथै सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न उहाँको आग्रह छ ।

उहाँले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना पनि प्रकट गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News