२०८३ श्रावण १५, शुक्रबार ०७:१४

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रदर्शनकारीबीचको झडपपछि शुरु भएको तनाव मधेश प्रदेशका मुख्य जिल्लाको सदरमुकाम तथा बजार क्षेत्रसम्म फैलिएको छ ।

सुनसरीमा प्रहरीको गोली लागेर घाइते भएका अर्का एक युवकको उपचारका क्रममा मृत्यु भएसंगै घटनाले थप आक्रोशित रूप लिएको छ भने त्यसको प्रभाव धनुषा, पर्सा र सिरहामा प्रत्यक्ष देखिएको छ । जनकपुरधाम, वीरगञ्ज र गोलबजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु जारी गरिएको छ । पर्सामा निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले बिहीबार साँझ ५ बजेदेखि निषेधाज्ञा लागु गरेको छ । सिरहामा प्रदर्शनका क्रममा एक किशोरको मृत्यु भएको छ भने आगजनी, तोडफोड र झडपका घटनाले सुरक्षा अवस्था थप चुनौतीपूर्ण बनेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बिहीबार सूचना जारी गर्दै वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा बारे जानकारी गराएका छन् ।

सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर घाइते भएका देवानगञ्ज गाउँपालिका–३ का २२ वर्षीय जयप्रकाश मेहताको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको छ । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार चिकित्सकले उनलाई दिउँसो १ः२४ बजे मृत घोषणा गरेका छन् ।

यससंगै देवानगञ्ज घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । घटनामा गोली लागेर घाइते भएका अन्य आठ जनाको विराटनगरस्थित न्यूरो अस्पताल, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घटनामा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए । प्रदेश राजधानी जनकपुरधाममा सुरक्षा अवस्था बिग्रिन सक्ने आकलनपछि जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार दिउँसो ३ः३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी आदेश अनुसार जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६-क) बमोजिम कफ्र्यु लागू गरिएको छ । यसअघि बिहानैदेखि रामानन्द चोक क्षेत्रमा हिन्दूवादी समूहले प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका थिए । प्रदर्शन उग्र बनेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर गर्नुका साथै अश्रुग्यास प्रहार गरेको थियो ।

कफ्र्यू अवधिमा तोकिएको क्षेत्रमा आवतजावत, सभा, जुलुस, प्रदर्शन तथा कुनै पनि प्रकारको भेला गर्न रोक लगाइएको छ । आदेश उल्लंघन गर्ने व्यक्तिमाथि कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ । जनकपुरधाममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ । नेपाली सेनासमेत परिचालन गरिएको छ ।

सुरक्षा अवस्था थप संवेदनशील बनेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिकाका विभिन्न क्षेत्रमा पनि अनिश्चितकालीन कफ्र्यू लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी आदेशअनुसार साउन १४ गते दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म कफ्र्यु कायम रहनेछ । कफ्र्यू पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोलबजार नगरपालिका–३ को कहरहा खोलादेखि चौर्हवा चोकसम्म तथा सैनिक चोकदेखि राजकीय प्राविधिक बहुमुखी क्याम्पस आसपासका क्षेत्रमा लागू गरिएको छ। प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै सुरक्षा निगरानी बढाइएको जनाएको छ ।

गोलबजारमा प्रदर्शनका क्रममा भएको झडपमा गोली लागेर औरही गाउँपालिका–२ का करिब १५ वर्षीय गणेश यादवको मृत्यु भएको छ । घटनामा अर्का एक जना घाइते भएका छन् । उनको स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरान पठाइएको छ । घटनापछि आक्रोशित प्रदर्शनकारीहरूले मृतकको शव सडकमै राखेर प्रदर्शन गरेका छन्।

शव उठाउन नदिएपछि अवस्था थप तनावपूर्ण बनेको छ । यद्यपि प्रहरीले प्रदर्शनकारीमाथि प्रत्यक्ष गोली नचलाएको दाबी गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार भीड नियन्त्रणका लागि प्रहरीले हवाई फायर र अश्रुग्यास मात्र प्रयोग गरेको छ । घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको प्रशासनले जनाएको छ ।

सिरहामा प्रदर्शन उग्र बन्दै जाँदा गोलबजारस्थित एबी मलमा आगजनी गरिएको छ । आगलागीबाट मलमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । त्यसपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ । यस्तै जिल्लाका विभिन्न स्थानमा ११ भन्दा बढी मोटरसाइकलमा आगजनी गरिएको छ । सबै मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

गोलबजार नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिए पनि क्षेत्रको तनाव कम हुन सकेको छैन । प्रहरीले आगजनी र तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान गर्ने तथा घटनाको विस्तृत अनुसन्धान गर्ने काम भइरहेको जनाएको छ । सुनसरीको देवानगञ्जबाट शुरु भएको तनाव मधेश प्रदेशका सदरमुकाम र व्यापारिक केन्द्रसम्म फैलिन थालेपछि प्रदेशको सुरक्षा अवस्था चुनौतीपूर्ण बनेको छ ।

जनकपुरधाममा कफ्र्यु, वीरगञ्जमा निषेधाज्ञा, गोलबजारमा कफ्र्यूसंगै किशोरको मृत्यु, आगजनी, तोडफोड र सार्वजनिक सम्पत्तिमा क्षतिले प्रशासनलाई थप दबाबमा पारेको छ ।

Comment


Related News