२०८३ श्रावण १५, शुक्रबार ०७:१८

सुनसरी घटनालाई लिएर जनकपुरधाममा दुई समुदायबिच झडपको स्थितिले अवस्था तनावग्रस्त बनेको छ । तनावग्रस्त अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले ठुलो परिमाणमा अश्रूग्यास प्रहार गरेको छ ।

जनकपुर उपमहानगरपालिका–८ स्थित पगलाबाबा धर्मशाला नजिकै जम्मा भएका प्रदर्शनकारी र प्रहरीबिच तनाव उत्पन्न हुँदा आधा दर्जनभन्दा आन्दोलनकारी र तीन जना सुरक्षाकर्मी घाइते भएका छन् । तनावग्रस्त अवस्थालाई नियन्त्रण लिन सेना समेत जनकपुरधामको विभिन्न चौकमा परिचालन गरिएको छ ।

धर्मशाला क्षेत्रमा करिब ५ सयको संख्यामा जम्मा भएका हिन्दु धर्मावलम्बी प्रदर्शनकारीहरू नजिकैको मुस्लिम बस्तीतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गरेको थियो । सोही क्रममा स्थिति अनियन्त्रित बन्न थालेपछि भीडलाई तितरबितर पार्न प्रहरीले ५० राउण्डभन्दा बढी सेल अश्रूग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

झडपका क्रममा आन्दोलनकारीतर्फ आधा दर्जन जना घाइते भएका छन् भने तीन जना बालकसहित चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते मध्ये जनकपुरधाम २० का भोगेन्द्र रामको अवस्थामा पनि गम्भीर रहेको छ । अन्य तीन बालकको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।

अन्य सामान्य घाइतेहरुसहित सबै घाइतेको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ । स्थिति नियन्त्रण लिने क्रममा तीन जना प्रहरी जवान समेत घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सम्भावित साम्प्रदायिक तनावलाई रोक्न जनकपुरका संवेदनशील क्षेत्रहरूमा व्यापक संख्यामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो समाचार लेख्दासम्म जनकपुरधामको जिरोमाईलदेखि मुरली चोक, रामानन्द चोक, माछा बजार, पिराडी चोक, शिव चोक, भानु चोक लगायतका क्षेत्र तनावग्रस्त रहेको थियो । ती क्षेत्रमा आवात जावत पूर्णरुपमा प्रहरीले बन्द गरेका थिए ।

Comment


Related News