जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सुनसरी घटनामा राज्यका संयन्त्रहरूको पनि संलग्नता देखिएको दाबी गरेका छन् ।
प्रधानमन्त्री बालेन शाहसँग भेटेर फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भिडिओ हेर्दा सुरक्षाकर्मीहरू घटनामा आक्रोशित भएर लागेको देखिएको उनले आरोप लगाए । उनले भने, ‘निष्पक्ष छानबिन भएर कारबाही हुन्छ भनेर प्रधानमन्त्रीले भन्नुभएको छ । प्रहरी र बल प्रयोगबाट मात्रै यस्तो कुरा समाधान हुँदैन भन्ने कुरा नेपाली सेना, प्रहरीले पनि बुझ्नुपर्छ । त्यो संवादको मार्फत हुनुपर्छ भनेर हामीले सुझाव दिएका छौँ ।’
मधेशमा यस्ता घटना हरेक महिना हुँदै आएकाले दिगो समाधान गर्नुपर्ने राउतको भनाइ छ ।
उनले भने, ‘मैले खुलेरै भन्दै आएको छु, केही खेल्ने तत्त्वहरू पनि भए। यसमा कतै न कतै राज्यका सरकारी संयन्त्रहरूको पनि संलग्नता देखिन्छ। कतै सरकारलाई नै असफल बनाउन खोजेको हो कि, दबाबमा दिन खोजेको हो कि, वा कुनै मन्त्रीहरू चेन्ज गर्न खोजेको हो कि ? भन्ने देखिन्छ।’
उनले बत्ती काटिनु, ५ दिनसम्म लास राखिनुले शङ्का बढाएको बताए।
उनले मधेशमा देखिएको हिंसा अन्त्य गर्नको लागि सरकारलाई आफूहरूको साथ रहने बताए।

