२०८३ श्रावण १६, शनिबार ०७:२४

सुनसरी घटनालाई लिएर तराई– मधेशमा पछिल्लो समय बिग्रेको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरीले एआईजीदेखि एसएसपीसम्मका थप १५ जना उच्च प्रहरी अधिकृतलाई विभिन्न जिल्ला तथा प्रदेशमा परिचालन गरेको छ ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार तराई–मधेश केन्द्रित सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उच्च तहका अधिकृतहरूलाई फिल्डमा खटाइएको छ । उनीहरूले प्रदेश तथा जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्दै सुरक्षा अवस्थाको निरन्तर मूल्यांकन, स्रोत–साधन परिचालन, सूचना संकलन तथा विश्लेषण, सुरक्षा कार्ययोजना कार्यान्वयन तथा आवश्यक नीतिगत निर्देशनमा सहजीकरण गर्ने जिम्मेवारी पाएका छन् ।

तराई–मधेशमा १० साउनको राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको विवादपछि सुरक्षा अवस्था थप जटिल बनेको छ । उक्त घटनाका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएपछि विभिन्न जिल्लामा प्रदर्शन चर्किएको हो । सो प्रदर्शनको क्रममा सिरहामा समेत एक ज्यान गएपछि प्रदर्शन झन चर्केको छ ।

सो घटनापछि मोरङ, सुनसरी, सिरहा, धनुषा लगायतका जिल्लामा प्रदर्शन, आगजनी र तोडफोडका घटना भएका छन् । मधेश प्रदेशको करीब सबै जिल्लाका मुख्य स्थानहरुमा स्थानीय प्रशासनले कफ्र्यु जारी गरेको छ भने अवस्था नियन्त्रणमा लिन नेपाली सेनासमेत परिचालन गरिएको छ ।

सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन मधेश प्रदेशमा एआईजी हिमालयकुमार श्रेष्ठ र एसएसपी अमरेन्द्रबहादुर सिंहलाई खटाइएको छ भने मधेशका जिल्लाहरुमा डीआईजी दिनेशकुमार आचार्यलाई सिरहा र डीआईजी अबि नारायण काफ्लेलाई सप्तरी, भुवनेश्वर तिवारीलाई धनुषा, एसएसपी गोपालचन्द्र भट्टराईलाई सर्लाही, एसएसपी सोमेन्द्र सिंह राठौरलाई पर्सा, एसएसपी दीप शम्शेर जबरालाई रौतहट, एसएसपी कृष्णप्रसाद पंगेनीलाई महोत्तरी, एसएसपी होबिन्द्र बोगटीलाई बारामा जिम्मेवारी दिइएको छ ।

यस्तै एआईजी सिद्धीविक्रम शाहलाई बाँके, एआईजी उमाप्रसाद चतुर्वेदीलाई कपिलवस्तु तथा एआईजी ईश्वर कार्कीलाई कोशी प्रदेश, एसएसपी नवराज अधिकारीलाई चितवन, एसएसपी ज्ञानेन्द्रप्रसाद फुयाँललाई मोरङमा परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार परिचालित उच्च अधिकृतहरूले स्थानीय प्रशासन तथा प्रदेश र जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्दै शान्ति–सुरक्षा व्यवस्थापन, सुरक्षा अवस्थाको निरन्तर अनुगमन, जोखिमको विश्लेषण तथा आवश्यक परे प्रत्यक्ष रूपमा फिल्डमा खटिएर सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउनेछन् ।

प्रहरी प्रधान कार्यालयले तराई–मधेशको सुरक्षा अवस्थालाई निरन्तर निगरानीमा राखिएको जनाउँदै आवश्यकता अनुसार थप जनशक्ति, स्रोत–साधन र सुरक्षा रणनीति परिचालन गरिने जनाएको छ ।

Comment


Related News

Latest News

Trending News