महोत्तरी जिल्लाको समग्र शान्ति सुरक्षा, अमनचयनलाई दृष्टिगत गर्दै छिमेकी मुलुकहरूबाट सीमा नाका भई नेपाल आउनेहरुलाई आधिकारिक पहिचान खुल्ने परिचयपत्र हेरेर मात्र प्रवेश गर्न दिन निर्णय गरिएको छ ।
सुनसरी जिल्लामा भएको दुःखद् घटनापछि मुलुकको विभिन्न स्थानमा विकसित भइरहेका संवेदनशील घटनाक्रमलाई मध्यनजर गरि जिल्ला प्रशासन कार्यालय महोत्तरीले शुक्रबार बिहान जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, धार्मिक–सामाजिक सद् भाव सम्बन्धी समन्वय बैठकबाट सिमा प्रवेश गर्नेलाई परिचय पत्र देखाएर प्रवेश गर्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताएका छन् ।
परापूर्व कालदेखि रहिआएको सामाजिक सद्भाव, भाइचारा र सांस्कृतिक ऐक्यबद्धतालाई अक्ष्ॉण्ण राख्दै संयमता अपनाउन र कुनै पनि किसिमका हिंसात्मक, द्वन्द्वमूलक वा उत्तेजक क्रियाकलापहरू हुन नदिन सम्पूर्ण जिल्लावासीहरूमा हार्दिक अपिल समेत गर्ने निर्णय भएको प्रजिअ यादवले बताए ।
साथै सामाजिक सञ्जालमा सद्भाव भड्काउने किसिमका अफवाह, भ्रामक, अपुष्ट र द्वेषपूर्ण सामग्रीहरू सम्प्रेषण नगर्नुको साथै त्यस्ता सामग्रीहरु शेयर नगर्न समेत आग्रह गर्ने र कहि कतै कसैले त्यस्ता कार्य गरेमा संलग्न जोकोहीलाई प्रचलित नेपाल कानून बमोजिम कडा कारवाही गर्ने निर्णय बैठकबाट गरिएको उनले बताए ।
जिल्लाभित्र रहेका सम्पूर्ण जातजाति, भाषाभाषी, धर्म र सम्प्रदायका नागरिकहरूबीच असमझदारी वा द्वन्द्वलाई उत्तेजित नबनाई संयमता अपनाउँदै जिल्लामा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न जिल्लास्थित सम्पूर्ण धार्मिक अगुवाहरुमा हार्दिक अपिल गर्ने र कुनै पनि धार्मिक जुलुस, ¥याली, सभा वा सार्वजनिक कार्यक्रमहरू सञ्चालन गर्दा अनिवार्य रूपमा स्थानीय प्रशासनलाई पूर्वसूचना दिई स्वीकृति लिनुपर्ने र शान्ति–सुरक्षा खलल हुने कुनै क्रियाकलाप नगर्न नगराउन निर्णय समेत गरिएको उनले जनाएको छ ।
त्यसैगरि जिल्लाको समग्र शान्ति, सुव्यवस्था र अमनचयन कायम राख जिल्लास्थित सम्पूर्ण सुरक्षा निकायहरूलाई उच्च सतर्कताका साथ संवेदनशील क्षेत्रहरूमा गस्ती बढाउने, शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने निर्णय पनि गरिएको जनाइएको छ । यता सुनसरी घटनाको समर्थनमा महोत्तरीको सदरमुकाम जलेश्वर लगायत प्रमुख बजारहरु बन्द गराइएको छ । महोत्तरीको मटिहानी, गौशाला, सम्सी, रामगोपालपुर, औरही, पिपरा लगायतको बजार बन्द गर्नुका साथै सडकहरुमा टायर बाल्नुको साथै रुख ढालेर सडक समेत अवरुद्ध गरिएको छ ।

