२०८३ श्रावण १६, शनिबार ०७:३२

सुनसरीको देवानगञ्जबाट सुरु भएको डडेलो अचेल पूर्वी र मध्य तराईमा नराम्ररी सल्केको छ । जेठ–वैशाखको वन डडेलो जस्तै यस आगोले वर्षौदेखिको सामाजिक सद्भाव धुजा–धुजा पार्दै छ । अझ सञ्चारका विभिन्न माध्यमबाट सम्प्रेषित गलत सूचनाहरुले यस आगोमा घिउ थप्ने काम गरेको छ ।

सामाजिक सञ्जालहरुमा यत्र तत्र सर्वत्र फैलिएका ती भ्रामक तथा विद्वेषपूर्ण सूचनाहरु आम नागरिकलाई भयभीत र आक्रोशित बनाएको छ । घटना घटि सकेपछि घटना स्थल पुग्ने, अनि पुगेपछि घातक हतियार प्रयोग गर्ने हाम्रा सुरक्षा निकायको कामकाजले यी र यस्ता घटनाहरुलाई अझ भडकाएको पर्याप्त उदाहरणहरु छन् ।

व्यक्तिको भौतिक आक्रमणसम्म सिमित रहेको यो डडेलो अब व्यक्ति विशेषको निजी संरचना र व्यापारिक प्रतिष्ठानसम्म पुगेको छ । घर–टहरा जलाईन थालिएका छन् । व्यापारिक प्रतिष्ठानहरुमा आक्रमण हुन थालेका छन् । आरोप–प्रत्यारोपले वातावरणलाई अराजक बनाएको छ । स्कूल– कलेज बन्द छन् । व्यापारिक प्रतिष्ठानहरु सञ्चालन गर्ने वातावरण छैन् । जनजीवन कुनै प्रतिमा झै स्थिर भएको छ । स्वास्थ्य, शिक्षा, उद्योग व्यावसाय धरापमा पर्दैछ । एक वर्ष भित्र मुलुकमा घटेको यो दोश्रो ठुलो घटना हो । पहिलो घटनाको उद्येश्य र यथार्थ हामीले देखि सकेका छौं । अब यस दोश्रो घटनाको उद्येश्य र यथार्थ के हो ? भन्न गाह्रो छ ।

एक साता नबित्दै यस घटनामा सुनसरी देवानगञ्जमा भएको घटनामा ओमप्रकाश मेहता, जयप्रकाश मेहता तथा सिरहा गोलबजारमा गोली चल्दा औरही गाउँपालिका २ का १५ वर्षिय किशोर गणेश यादवगरि तीन जनाको शहादत भई सकेका छन् । देवानगञ्ज घटनामा गोली लागेर घाइते भएका आठ जना विराटनगरस्थित न्यूरो अस्पताल, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा तथा विहीवार अपरान्ह जनकपुरमा प्रदर्शनकारीको ढुङ्गा मुढाबाट सख्त घाईते भएको जनकपुर ७ का पंकज दासका १२ वर्षिय छोरा आनन्द दास काठमाण्डौको ट्रमा सेन्टरमा जीवन मरणबीचको युद्ध लड्दै छन् ।

देवानगञ्जमा केहि सुरक्षाकर्मीहरुपनि घाईते भएको सुरक्षाश्रोतले जानकारी दिएको छ । जानकी जी ती सम्पूर्ण घाईतेलाई शिघ्र स्वास्थ्य लाभ दियोस भने कामना गर्द छु । यसबीच देवानगञ्ज घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच बिहीबार मध्यराति गृहमन्त्री गुरुङको उपस्थितिमा औपचारिक सम्झौता भएको सूचना प्राप्त भएको छ ।

पिडित परिवार र गृहमन्त्रालयबीच भएको ७ बुंदे सहमतिमा घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारलाई शहिद घोषणा गर्ने प्रक्रृया अगाडि बढाउँने, दुवै मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउँने, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम तत्काल कानुनी कारबाही अघि बढाउँने, मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउँने तथा घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिसहरू यथाशीघ्र कार्यान्वयन गर्ने सहमति भएको छ । गृहमन्त्रालयले सुरक्षाकर्मीहरुको हकमा किरिया र प्रसूति बाहेक विदा नबस्न भन्दै प्रहरी प्रधान कार्यालयले सर्कुलर जारी गरेको छ ।

तनावग्रस्त क्षेत्रमा सुरक्षाकर्मीहरुको उपस्थिति बाक्लो बनाइएको छ । २०८३ साल श्रावण १४ गते मध्यराति सुनसरीको देवानगञ्ज ३ कप्तानगञ्जमा गृहमन्त्री सुदन गुरुङ र शहिद ओमप्रकाश मेहताका पिता कृष्णदेव मेहता र शहिद जयप्रकाश मेहताको पिता नरेश मेहताको हस्ताक्षरमाथि थोरै जनाले ध्यान दिनु भएको होला । शहिद पिता कृष्णदेवको हस्ताक्षर र नरेशको औठा छाप हेरेर सहजै अनुमान गर्न सकिन्छ कि उनिहरु शैक्षिक रुपले कुन वर्गका छन् ।

जनकपुरमा घाईते भएका १२ वर्षिय आनन्द दास कुन वर्गका हुन् । अर्थात् प्रजातान्त्रिक आन्दोलन होस कि माओवादी आन्दोलन । मधेश आन्दोलन होस कि अन्य कुनै आन्दोलन यसमा भौतिक क्षति बेहोर्ने भनेको निम्न वर्गिय समुदायका बालबालिका हो र यसको लाभ लिने उच्च वर्गीयका ठालुहरु हुन्छन् । सरसरि हेर्दा, देवानगञ्ज, जनकपुर, बिरगंज वा जहाँसुकै घटित सामाजिक सद् भाव बिरुद्धका घटना तत्कालीक देखिएपनि यसको पृष्ठभूमि भने धेरै पुरना हुन्छन् ।

यस्ता घटनाका प्रत्यक्ष वा परोक्ष पात्रहरु दैनिक जसो दुई सम्प्रदायबीचको सद्भाव खल्बलाउन सार्वजनिक रुपमा निरन्तर लेखि र बोली रहेका हुन्छन् । सद्भावका ती भिलेनहरुलाई नेपाल प्रहरीको साईबर सेलले चिनेकै हुनु पर्दछ । अनुसन्धान विभागका अनुसन्धाताहरुले जानेकै हुनु पर्दछ । यदि चिनेका वा जानेका छैनन् भने ती निकायहरु के गरेर बसेका हुन्छन् ? भन्ने सबाल बन्छ ।

शिक्षा, स्वास्थ्य, रोजगारीमामात्र होईन, आपसी झै झगडासमेतमा राजनीति देख्ने, भोंटको जोगाड लगाई रहने राजनीतिक दलहरु मुलुक असहज अवस्थामा रहेको वेलापनि राजनीतिक रोटी सेक्न उद्यत छन भने भन्नु केहि छैन । नभए मधेश जलि रहेकोवेला ती राजनीतिक दलहरु एक थान विज्ञप्ति प्रकाशित गरेर मौन बस्ने थिएनन् ।

यस विकट परिस्थितीमा सरकारसंगै राजनीतिक दलहरु पनि जनता सामु आउनु पर्दछ । सामाजिक अभियन्ता, राजनीतिक दलका नेताहरु, विभिन्न धर्मका धर्मगुरुहरु स्थानीय प्रशासनसंग मिलेर समस्या समाधान गर्नु पर्दछ । यो समय आरोप प्रत्यारोप भन्दा पनि हातोमालो गर्ने हो । अतः म भन्छु– यस असहज समयमा सामाजिक सद् भाव एकमात्र विकल्प हो ।

Comment


Related News

Latest News

Trending News