जिल्ला प्रशासन कार्यालय धनुषाले १४ साउनदेखि लागू गरिएको कर्फ्यु आदेश हटाउँदै प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम शनिबार बिहान १० बजेदेखि कर्फ्यु आदेश हटाइएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल जानकारी दिए ।
कर्फ्यु हटेसँगै अर्को आदेश जारी नभएसम्म तोकिएका क्षेत्रमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम निषेधाज्ञा लागू गरिएको छ ।
निषेधाज्ञा अवधिमा तोकिएको चारकिल्लाभित्र एकै स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति जम्मा हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ ।
प्रशासनले लक्ष्मीनिया हाटबजार चोकदेखि सिनुरजोडा चोक, बेलौनी रोड–एमक्यु स्टिल क्षेत्र, नगराइन नगरपालिका क्षेत्र तथा कादरी मस्जिद–सिनुरजोडा–सोहनी–मनिमण्डप–नेपाल नर्सरी–इस्कोन जनकपुर–दुधमती पुल–बेला आसपासका क्षेत्रलाई निषेधाज्ञा लागू हुने क्षेत्र तोकेको छ ।
जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको उल्लंघन गर्ने जो–कोहीलाई नियन्त्रणमा लिई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

