२०८३ श्रावण १७, आईतवार ०५:५६

वीरगञ्ज महानगरपालिका–२ ईदगाह चोक भएको घटनालाई साम्प्रदायिकतासँग नजोड्न जिल्ला प्रहरी कार्यालय पर्साले अनुरोध गरेको छ ।

जिप्रकाले दुई युवाबीच भएको व्यक्तिगत विवादको घटनालाई सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा धार्मिक तथा साम्प्रदायिक रंग दिएर प्रचार गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाउंदै यसलाई साम्प्रदायिकतासँग नजोड्न अनुरोध गरेका हुन् । प्रहरीका अनुसार शुक्रबार साँझ करिब ७ः३५ बजे वीरगञ्ज– २ ईदगाहा चोकस्थित भित्री सडकमा वीरगञ्ज–१६ इनर्वागाउँ निवासी १८ वर्षीय रञ्जित यादवमाथि विगतको व्यक्तिगत विवादका कारण वीरगञ्ज–२ निवासी १८ वर्षीय समिर अन्सारीले हातपात गरेका थिए ।

घटनामा रञ्जित यादवको ओठ र नाकमा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेलाई तत्काल प्रभु अस्पतालमा उपचारका लागि लगिएको र उनको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घटनामा संलग्न समिर अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ । घटनाबारे सत्यतथ्य अनुसन्धान भइरहेका बेला सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा सामाजिक तथा धार्मिक सद्भाव बिथोल्ने किसिमका समाचार र सामग्री प्रचारप्रसार भएको भन्दै पर्सा प्रहरीले चिन्ता व्यक्त गरेको छ ।

प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लद्वारा जारी विज्ञप्तिमा घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न व्यक्तिमाथि कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको उल्लेख गरिएको छ ।

प्रहरीले घटनालाई अतिरञ्जित वा साम्प्रदायिक रूपमा प्रस्तुत नगर्न आग्रह गर्दै सही,तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न तथा धार्मिक सद्भाव कायम राख्न सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्ता र सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ ।

Comment


Related News