नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल्लो समय सुरक्षा संवेदनशीलताका दृष्टिले थप प्राथमिकतामा परेको छ । सीमा क्षेत्रबाट हुनसक्ने अवैध आवतजावत, तेस्रो देशका नागरिकको अनधिकृत प्रवेश तथा सीमा अपराध नियन्त्रण गर्ने उद्देश्यले करिब एक सातादेखि सशस्त्र प्रहरी बल (एपीएफ) ले ‘बोर्डर इन्टरयाक्शन टीम (बीआईटी)’ सञ्चालनमा ल्याएको छ ।
पाइलट परियोजनाका रूपमा शुरु गरिएको यो संयन्त्र विशेषगरी मधेशका प्रमुख सीमा नाकालाई केन्द्रमा राखेर कार्यान्वयन गरिएको छ । सशस्त्र प्रहरी बलले जनाए अनुसार साउन १० गतेदेखि बीआईटी सञ्चालनमा आएको हो । यस अन्तर्गत सीमा नाकामा सादा पोशाकमा महिला तथा पुरुष सुरक्षाकर्मी बिहानदेखि साँझसम्म परिचालित हुनेछन् । उनीहरूले सीमा पार गर्ने यात्रुलाई आवश्यक सूचना, सहजीकरण तथा शंकास्पद गतिविधिको निगरानी गर्ने जिम्मेवारी पाएका छन् ।
बीआईटी हाल झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगञ्ज, रुपन्देहीको डन्डा, बाँकेको जमुनाहा र कैलालीको त्रिनगर गरी ६ स्थानमा सञ्चालन गरिएको छ । यीमध्ये पर्साको वीरगञ्ज मधेश प्रदेशको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय व्यापारिक तथा आवागमन नाका भएकाले यहाँ विशेष निगरानी बढाइएको छ ।
वीरगञ्ज नाकाबाट दैनिक हजारौँ नेपाली र भारतीय नागरिकको आवतजावत हुने भएकाले सुरक्षा निकायले तेस्रो देशका नागरिक अवैध रूपमा प्रवेश गर्ने सम्भावनालाई ध्यानमा राख्दै निगरानी प्रणालीलाई थप प्रभावकारी बनाएको जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग तथा भारतीय सुरक्षा निकायसंग नियमित समन्वय गरी सीमा सुरक्षा मजबुत बनाइएको छ ।
सुरक्षा अधिकारीहरूका अनुसार सीमा क्षेत्रमा सुराकी परिचालन, गस्ती, चेकपोइन्ट तथा प्रविधिमा आधारित निगरानीलाई थप प्रभावकारी बनाइएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार सीमावर्ती जिल्ला विशेषगरी मधेश प्रदेशका प्रहरी प्रमुखहरूलाई कुनै पनि शंकास्पद गतिविधिमाथि विशेष निगरानी राख्न निर्देशन दिइएको छ ।
स्थानीय तह, प्रशासन र अन्य सुरक्षा निकायसंग समेत निरन्तर समन्वय भइरहेको जनाइएको छ । राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा नेपाल प्रहरीका प्रवक्ता तथा महानिरीक्षक अबि नारायण काफ्लेले रोहिंग्या, पाकिस्तानी तथा सोमालियाली शरणार्थीसंग सम्बन्धित केही गतिविधिले सुरक्षा संवेदनशीलता बढाउन सक्ने बताएका थिए। त्यसपछि सुरक्षा निकायले सीमानाका निगरानी थप कडा बनाएको छ । उनले अवैध रूपमा नेपाल प्रवेश गर्न सक्ने व्यक्तिका गतिविधिले सुरक्षा चुनौती निम्त्याउन सक्ने आकलन गरेर आफूहरूले अन्तर निकाय समन्वय र सुराकीमा आधारित निगरानीलाई बढाएको बताए ।
उनले भने, ‘ हामीले सुराकीमा आधारित प्रहरीलाई सुदृढ बनाएका छौँ । खास गरी सीमावर्ती क्षेत्रहरूमा कुनै त्यस्ता व्यक्तिहरूको घुसपैठ हुन नदिनका लागि त्यहाँका प्रहरी कर्मचारी र कमान्डरहरूलाई प्रहरी महानिरीक्षकबाट विशेष निगरानी गर्न निर्देशन दिइएको छ ।’ उनले अघि थप्दैँ भने, ‘सीमा निगरानीलाई बलियो बनाउने कुरा छ जसमा कागजपत्र देखाएर मात्र प्रवेश हुने अवस्थाहरू छ। अन्य सुरक्षा निकायका साथ साथै अध्यागमन विभाग सहितसँग समन्वयात्मक ढङ्गले अघि बढिरहेका छौँ ।’ सशस्त्र प्रहरी बलले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा सीमा क्षेत्रबाट अवैध रूपमा नेपाल प्रवेश गर्न खोजेका २० जना तेस्रो देशका नागरिकलाई नियन्त्रणमा लिएर अध्यागमन विभागलाई बुझाइएको थियो ।
अध्यागमन ऐनअनुसार यस्ता व्यक्तिलाई जरिवाना, कैद वा देश निकाला गर्न सकिने व्यवस्था छ । नेपाल–भारतबीच खुला सीमा रहेकाले सीमाको सम्पूर्ण क्षेत्रमा एकैपटक निगरानी गर्न चुनौतीपूर्ण रहेको सुरक्षा अधिकारीहरू बताउँछन् । नियमित गस्ती, चेकपोइन्ट तथा भारतीय सशस्त्र सीमा बल -एसएसबी) सँगको औपचारिक तथा अनौपचारिक समन्वयमार्फत सीमा सुरक्षा सुदृढ पार्ने प्रयास भइरहेको जनाइएको छ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले खुला सीमानाकाको फाइदासंगै त्यसको दुरुपयोग हुन सक्ने सम्भावना पनि रहने भएकाले सादा पोशाकमा खटिने बीआईटीले शंकास्पद गतिविधि पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । पूर्वगृह प्रशासनका अधिकारीहरूले मधेश प्रदेशजस्तो खुला सीमा नाका भएका क्षेत्रमा स्थानीय समुदायको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताएका छन् ।
उनीहरूको अनुसार सीमा क्षेत्रमा अपरिचित व्यक्तिको गतिविधिबारे समयमै सुरक्षा निकायलाई जानकारी गराउने संस्कृतिको विकास गर्न आवश्यक छ । दीर्घकालीन रूपमा नेपाल–भारतबीच सीमा नाकामा परिचयपत्र प्रणाली लागू गर्न सके अवैध आवतजावत नियन्त्रणमा थप प्रभावकारी हुने सुझाव पनि विज्ञहरूले दिएका छन् । यद्यपि त्यसका लागि दुई देशबीच राजनीतिक तथा कूटनीतिक सहमति आवश्यक पर्ने उनीहरूको भनाइ छ । नेपाल–भारत सीमानाकाको सबैभन्दा संवेदनशील क्षेत्रमध्ये पर्ने मधेश प्रदेशमा सीमा सुरक्षालाई केन्द्रमा राख्दै बीआईटी सञ्चालन शुरु गरिएको छ ।
विशेषगरी पर्साको वीरगञ्ज नाकासहितका मुख्य सीमा बिन्दुमा सादा पोशाकका सुरक्षाकर्मी परिचालन, सुराकी प्रणाली सुदृढीकरण, भारतीय सुरक्षा निकायसंगको समन्वय तथा तेस्रो देशका नागरिकको अवैध प्रवेश नियन्त्रणमा जोड दिइएको छ । सुरक्षा निकायका अनुसार सीमा क्षेत्रको सहज आवतजावतलाई कायम राख्दै राष्ट्रिय सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो अभियान अघि बढाइएको छ ।

