गृहमन्त्री सुधन गुरुङले आइतवार जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिर र महोत्तरीको बर्दिबास नगरपालिका–५ मा रहेको टुटेश्वरनाथ महादेव मन्दिरमा विशेष पूजा गरेका छन् ।
देशमा शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना गर्दै गृहमन्त्री गुरुङले आइतबार बिहानै जानकी मन्दिर र टुटेश्वरनाथ महादेव मन्दिरमा विशेष पूजा–अर्चना गरेका हुन् । जानकी मन्दिरमा उनले रास्वपाका नेता कार्यकर्ताहरुको लावालस्कर सहित पूजापाठ गर्न पुगेका थिए । उनी अन्य मन्त्री र नेता जस्तै भिआईपीको रुपमा नभई आम नागरिक सरह श्रद्धालु लाईनमै बसेर माता जानकीको पूजाआजा गरेका थिए ।
मन्दिरमा पूजाआजा पश्चात जानकी मन्दिरको अवस्था बारे जानकारी उनले लिएका थिए । उता टुटेश्वरनाथ मन्दिरमा समेत पूजापछि उनले साउन महिनाभर सञ्चालन भइरहेको धार्मिक मेलाको सुरक्षा व्यवस्था, भीड व्यवस्थापन र श्रद्धालुलाई प्रदान गरिएका सेवा सुविधाबारे समेत जानकारी लिएका थिए । टुटेश्वरनाथ मन्दिरका पुजारी श्रीचन दासले गृहमन्त्रीबाट विशेष पूजा सम्पन्न गराएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजाराम यादवले बताए ।
उनका अनुसार भ्रमणका क्रममा टुटेश्वरनाथ महादेव मन्दिरको धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्वबारे गृहमन्त्रीलाई जानकारी गराइएको थियो । मन्दिरको संरक्षण, प्रवद्र्धन र विकासका लागि पुरातात्विक अध्ययन आवश्यक रहेको विषयमा समेत उनको ध्यानाकर्षण गराइएको अध्यक्ष यादवले बताए । साउन महिनाभर ‘नेपालको बाबाधाम’का रुपमा परिचित टुटेश्वरनाथ महादेव मन्दिरमा नेपाल र भारतका लाखौं श्रद्धालु जल चढाउन आउने गर्छन् ।
यस अवधिमा यहाँ लाग्ने धार्मिक मेलाले टुटेश्वरधामलाई मधेशकै प्रमुख तीर्थस्थलका रुपमा स्थापित गरेको छ । मन्दिर दर्शनपछि गृहमन्त्री गुरुङ टुटेश्वरधाम परिसरस्थित श्री रत्न छोलिङ गुम्बासमेत पुगेका थिए । त्यहाँ उनले गौतम बुद्धको प्रतिमा ढोग्दै शान्तिको कामना गरेका थिए ।

