सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षति सिरहाको गोलबजारमा भएको बुझिएको छ । सिरहा गोलबजार नगरपालिका ८ पुरानो चोहर्वास्थित न्यू असलम बस्त्रालयमा साउन १४ गते बिहिवार आगजनी गरिएको थियो ।
सुनसरी घटनाको विरोधमा भएको आन्दोलनका क्रममा आगजनी हुँदा न्यू असलम वस्त्रालयमा करिब ५ करोड रुपैयाँ बराबरको क्षति भएको पीडित व्यवसायी असलम खानले दाबी गरेका छन् । उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफ्नो परिवारले भोगिरहेको पीडा सार्वजनिक गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै खानले आगजनीका कारण पसलमा रहेको सम्पूर्ण कपडा तथा अन्य सरसामान जलेर नष्ट भएको, करिब २ लाख रुपैयाँ नगद समेत जलेको र तीन तले घरमा आंशिक क्षति पुगेको बताए । उनका अनुसार उक्त घटनाले पाँच जनाले रोजगारी गुमाएका छन् भने आफ्नो परिवार पूर्ण रूपमा आर्थिक संकटमा परेको छ । भावुक हुँदै उनले भने, ‘वर्षौंदेखि यस बजारमा सबै जातजाति, भाषा, धर्म र समुदायसँग मिलेर व्यापार गर्दै आएका थियौँ । कहिल्यै कसैसँग विवाद भएन। तर आज हाम्रो परिवार नै सडकमा पुग्ने अवस्था आयो। आखिर हाम्रो गल्ती के थियो ? खानका अनुसार आगलागीमा पसलका सामान मात्र होइन, करिब २ करोड रुपैयाँ बराबरको उधारो कारोबार सम्बन्धी बहिखाता समेत जलेर नष्ट भएको छ ।
आगजनी भएको समयमा पसलभित्र रहेका पाँच जना कामदार पनि जोखिममा परेका थिए । उनीहरू कठिन प्रयासपछि सकुशल बाहिर निस्कन सफल भएको उनले बताए । आफ्नो आर्थिक अवस्थाबारे जानकारी दिँदै खानले गोलबजार नगरपालिका–११ बलकावास्थित जग्गा बन्धकी राखेर एनआईसी एशिया बैंकबाट २ करोड ८ लाख रुपैयाँ कर्जा लिई व्यापार विस्तार गरेको पीडा सुनाए ।
यस्तै एबी मलमा पनि करोडौ रुपैयाको धनमाल जलेर नष्ट भएको दाबी गरिएको छ । उनका अनुसार आर्थिक अभावका कारण पसलको बीमा समेत गर्न नसकिएको थियो । ‘परिवार चलाउनै मुस्किल भइरहेको बेला यस्तो ठूलो विपत्ति आइपरेको छ । अब हामी कहाँ जाने, के गर्ने ? साहुमहाजन बाट ल्याएको उधारो लत्ताकपडाको रकम कहाँ बाट चुक्ता गर्ने भन्दै उनले भावुक बनेर आफ्नो पीडा सुनाए । यस्तै प्रदर्शनकारीले गरेको आगजानीले गोलबजारस्थित नेहाल आइरन स्टोर र अहान प्लाइउड सप्लायर्स पूर्ण रूपमा जलेर नष्ट भएको पीडित पक्षले जनाएको छ ।
ती व्यवसायका सञ्चालक सबिर खानका अनुसार नेहाल आइरन स्टोरमा करिब १५ करोड रुपैयाँ बराबरको सामान तथा अहान प्लाइउड सप्लायर्समा करिब ५ करोड रुपैयाँ बराबरको सामग्री रहेको थियो । आगजनीका कारण दुवै व्यवसाय पूर्ण रूपमा नष्ट हुँदा करिब २० करोड रुपैयाँ बराबरको क्षति भएको उनको दाबी छ । सबिर खानले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘वर्षौँदेखि पसिना बगाएर, ऋण–लगानी गरेर र दिनरात मेहनत गरेर बनाएको हाम्रो व्यवसाय केही समयमै खरानीमा परिणत भयो । यो केवल पसल जलेको घटना मात्र होइन, हाम्रो परिवारको भविष्य, हाम्रो संघर्ष र जीवनभरको सपना जलेको पीडा हो ।’ उनका अनुसार यी दुवै व्यवसाय नै परिवारको मुख्य आम्दानीको आधार थिए । यही व्यवसायबाट परिवारको दैनिक खर्च, घरपरिवारको जिम्मेवारी तथा तीन जना छोरीहरूको शिक्षा सञ्चालन हुँदै आएको थियो । हाल तीनै जना छोरीहरू घरभन्दा टाढा बसेर आफ्नो भविष्य निर्माणका लागि अध्ययनरत छन् ।
व्यवसाय पूर्ण रूपमा नष्ट भएपछि उनीहरूको पढाइ, पारिवारिक जीवनयापन र भविष्य नै अन्योलमा परेको उनले बताए । ‘हामी अहिले अत्यन्तै ठूलो आर्थिक संकटमा मात्र होइन, गहिरो मानसिक पीडामा पनि छौँ। जीवनभरको कमाइ एकैछिनमा समाप्त भयो। अब फेरि शून्यबाट सुरु गर्ने अवस्था आएको छ,’ उनले भावुक हुँदै भने ।
पीडित परिवारले नेपाल सरकार, गृह प्रशासन, स्थानीय प्रशासन तथा सम्बन्धित सबै निकायसँग घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ । गोलबजारमा भएको हिंसा तथा आगजनीको घटनाले स्थानीय व्यवसायीमा त्रास र असुरक्षाको भावना बढाएको छ। पीडित परिवारले यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था, कानुनी कारबाही र सामाजिक सद्भाव कायम गर्न सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरेको छ ।

