२०८३ श्रावण १९, मंगलवार ०७:४५

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति प्रभावित भएपछि उपभोक्ता दैनिक जीवनमा गम्भीर समस्या भोग्न बाध्य भएका छन् । मधेश प्रदेशको जनकपुरधाम, वीरगञ्ज, लहान, राजविराज, मलंगवा, गौर, कलैयालगायतका मुख्य बजारमा एक सातादेखि ग्यास सहज रूपमा उपलब्ध हुन नसकेपछि उपभोक्ताहरू खाली सिलिन्डर बोकेर एक डिलरबाट अर्को डिलरसम्म धाउन बाध्य भएका छन् ।

ग्यास अभावले घरपरिवार, होटल, रेष्टुरेन्ट तथा साना व्यवसायसमेत प्रभावित भएका छन् । विशेषगरी डेरा गरी बस्ने विद्यार्थी, स्वास्थ्यकर्मी, ज्यालादारी मजदुर तथा साना होटल सञ्चालकलाई दैनिक खाना पकाउनै समस्या भएको छ । जनकपुरधामको रामानन्द चोक, पिडारी चोक, थापा चोक, भानु चोक, मुरली चोक, पेठिया बजारलगायतका क्षेत्रमा रहेका अधिकांश ग्यास डिलरले ग्यास सकिएको भन्दै उपभोक्तालाई नाम टिपाएर फर्काउने गरेका छन् ।

कतिपय डिलरले पसल नै बन्द गरेका छन् भने खुलेका पसलमा पनि नयाँ ग्यास उपलब्ध नभएको जानकारी दिइरहेका छन् । उपभोक्ताहरूका अनुसार एक साताभन्दा बढी समयदेखि कुनै पनि कम्पनीको ग्यास नियमित रूपमा वितरण हुन सकेको छैन । यसले दैनिक उपभोगमा प्रत्यक्ष असर परेको उनीहरूको गुनासो छ ।

ग्यास अभावको सबैभन्दा बढी असर साना होटल तथा रेष्टुरेन्ट व्यवसायमा पनि देखा पर्न थालेको छ । कतिपय होटल सञ्चालकले सीमित मौज्दातका कारण व्यवसाय सञ्चालन गर्न कठिन भएको बताएका छन् भने केहीले अस्थायी रूपमा सेवा नै बन्द गर्ने अवस्था आएको जनाएका छन् । स्थानीय स्रोतका अनुसार सर्वसाधारणलाई ग्यास उपलब्ध नभए पनि केही ठूला होटल तथा व्यावसायिक प्रतिष्ठानलाई बढी मूल्यमा ग्यास उपलब्ध गराइएको भन्ने गुनासोसमेत आएको छ ।

यद्यपि यसबारे आधिकारिक पुष्टि भने हुन सकेको छैन । उपभोक्ताहरूले बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारीको तयारी भइरहेको आशंका व्यक्त गरेका छन् । सुनसरी घटनापछि केही दिन बजार बन्द भए पनि त्यतिबेला बिक्रीसमेत न्यून भएकाले मौज्दात ग्यास एकाएक सकिनुपर्ने अवस्था नरहेको उपभोक्ताहरु बताउँछन् । ‘दुई दिन बजार नै बन्द थियो । बिक्री नभएको ग्यास अचानक कसरी सकियो ? भन्ने प्रश्न उठाउँदै उपभोक्ताले सम्बन्धित निकायलाई बजार अनुगमन तीव्र बनाउन, मौज्दातको वास्तविक अवस्था सार्वजनिक गर्न तथा कालोबजारी रोक्न माग गरेका छन् ।

ग्यास व्यवसायी संघ धनुषाका अध्यक्ष फुलदेव पण्डितले भने ग्यास अभाव कृत्रिम नभई आपूर्ति प्रणालीमा आएको अवरोधका कारण भएको दाबी गरे । उनले जनाए अनुसार सुनसरी घटनापछि लगाइएको कफ्र्यु, निषेधाज्ञा तथा यातायात अवरोधका कारण करिब एक सातासम्म ग्यास बोकेका ट्यांकर सञ्चालन हुन सकेनन् । बन्द खुलेपछि पछिल्ला दुई दिनदेखि विभिन्न कम्पनीका ग्यास आउन थालेकाले आपूर्ति क्रमशः सहज हुँदै गएको उनले बताए ।

पण्डितका अनुसार समस्या जनकपुरधाम वा मधेश प्रदेशमा मात्र सीमित नभइ देशभर देखिएको छ । उनले भारतको बरौनीबाट हुने प्रत्यक्ष ढुवानी प्रभावित भएपछि हाल हल्दिया, मथुरा लगायतका रुटबाट ग्यास ल्याउनुपरेकाले ढुवानीमा बढी समय लागेको बताए । उनले हाफ सिलिन्डरबाट फुल सिलिन्डर व्यवस्थापन प्रणालीमा गरिएको परिवर्तनले समेत केही समय आपूर्ति व्यवस्थापनमा समस्या सिर्जना गरेको उल्लेख गरे ।

नेपाल आयल निगमले भने बजारमा कुनै डिलर वा विक्रेताले ग्यास उपलब्ध नगराएको वा अनियमितता गरेको जानकारी प्राप्त भए तत्काल निगम वा सम्बन्धित निकायमा सूचना दिन उपभोक्तासँग आग्रह गरेको छ । नेपालमा हाल नेपाल ग्यास, कोशी ग्यास, नोबेल ग्यास, लुम्बिनी ग्यास, एभरेस्ट ग्यास, राजधानी ग्यास, ओम ग्यास, बाबा ग्यास, सुपर ग्यास, बुटवल ग्यास, प्राइमा ग्यास, सहारा ग्यास, सैपाल ग्यास, मनोज ग्यास, नवज्योति ग्यास, नारायणी नेपाल ग्यास, सुगम ग्यास, त्रिशक्ति ग्यास, युनाइटेड ग्यास, श्री ग्यास, हिमाल ग्यास, नमस्ते ग्यास, विश्वकर्मा ग्यास, अन्नपूर्ण ग्यास, सगरमाथा ग्यासलगायत करिब ५६ वटा एलपीजी बोटलिङ कम्पनी सञ्चालनमा छन् ।

उपभोक्ता अधिकारकर्मीहरूले बजारमा ग्यासको वास्तविक मौज्दात, वितरण प्रक्रिया तथा डिलरहरूको बिक्री अभिलेख तत्काल छानबिन गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले कृत्रिम अभाव र कालोबजारी रोक्न जिल्ला प्रशासन, नेपाल आयल निगम र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले संयुक्त रूपमा प्रभावकारी बजार अनुगमन गर्नुपर्ने बताएका छन् । आपूर्ति सहज नहुँदा मधेशका हजारौं घरपरिवार र व्यवसाय प्रत्यक्ष प्रभावित भइरहेका छन् ।

Comment


Related News

Latest News

Trending News