नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकार असफलतातिर अघि बढिरहेको टिप्पणी गर्नुभएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लवले सरकार गठनको छोटो समयमा नै जनता निराश बन्न थालेको र सरकार असफलतातिर अघि बढिरहेको टिप्पणी गर्नुभएको हो । उहाले विद्रोहको भावनाबाट बनेको वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो ।
जनता र नयाँ पुस्तामा असन्तुष्टि बढेर पुनः आन्दोलन र विद्रोहको वातावरण सिर्जना भइरहेको उहाले बताउनुभयो । विप्लवले भ्रष्टाचारीहरूलाई कारबाही गर्नुको साटो उल्टै संरक्षण गरिएको, उनीहरूको मनोबल बढेको र धरौटी वा बिना धरौटी सहजै रिहाइ भइरहेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
सरकार कुनै स्पष्ट नेतृत्व वा दिशानिर्देश बिना चलेको जस्तो देखिएकाले जनता अन्योलमा परेको उहाको भनाइ छ । साथै उहाले विद्यमान प्रणाली र सरकार असफलतातिर गइरहेकाले नेपाली युवा, जेन–जी र सर्वसाधारणको सहभागितामा स्पष्ट राजनीतिक, आर्थिक र सांस्कृतिक प्रस्तावसहित नयाँ निकास खोज्नुपर्नेमा जोड दिनुभयो ।
उहाले नेपालको कम्युनिस्ट आन्दोलनलाई परम्परागत र पुराना शैलीबाट मात्र नहेरी गम्भीर समीक्षा र व्यापक बहस गर्नुपर्ने धारणा राख्नुभयो ।

