२०८३ श्रावण २१, बिहीबार ०८:४२

पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनाग्रस्त भई आगलागी हुँदा पूर्ण रूपमा नष्ट भएको छ।

बिहीवार बिहान करिब ५ः३० बजे बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर सडकमा अचानक आएको मृगलाई जोगाउने प्रयासमा चालकले नियन्त्रण गुमाउँदा सडकको दाहिनेपट्टि पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्याङ्करमा भीषण आगलागी भएको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी बसन्त गौतमका अनुसार सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट डिएसपी सत्यनारायण थापाको नेतृत्वमा १० जना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट इन्स्पेक्टर राजेन्द्र थापा मगरको नेतृत्वमा ५ जना प्रहरी घटनास्थलमा परिचालन गरिएको थियो।

चन्द्रपुर नगरपालिका र बाराको निजगढ नगरपालिकाका दमकलको संयुक्त प्रयासपछि बिहान ६ः५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

दुर्घटनाका कारण केही समय प्रभावित भएको पूर्व–पश्चिम राजमार्गमा अहिले सवारी आवागमन सामान्य रूपमा सञ्चालन भइरहेको छ।

ट्याङ्कर चालक बारा जिल्लाको सिमरा उपमहानगरपालिका–११ निवासी २५ वर्षीय समिर गुरुङलाई ट्राफिक प्रहरी कार्यालय चपुरको नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Comment


Related News

Latest News

Trending News