कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सरकारले नेपाल ई–प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेको छ ।
बिहीबार सिंहदरबारमा परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल ई–प्रमाणीकरण प्रणालीको शुभारम्भ गर्नुभएको हो । नेपाल ई–प्रमाणीकरण प्रणालीको शुभारम्भ भएसंगैकन्सुलर प्रमाणीकरण सेवा थप सहज, पारदर्शी, व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री हुने मन्त्री खनालले बताउनुभयो ।
कन्सुलर सेवा विभागले विकास गरेको नयाँ प्रणालीमार्फत अब संसारको जुनसुकै स्थानबाट अनलाइन आवेदन पेस गर्न, आवेदनको अवस्था बुझ्न, राजस्व भुक्तानी गर्न र अपोइन्टमेन्ट बुक गर्न सकिने उहाले जानकारी दिनुभयो ।
मन्त्री खनालले विगतमा कागजात अपुग वा त्रुटिपूर्ण हुँदा सेवाग्राहीले बारम्बार आउजाउ गर्नुपर्ने र लाइन बस्नुपर्ने बाध्यता रहेकोमा, अब अनलाइन स्वीकृतिपछि मात्र विभाग उपस्थित भए पुग्ने भएकाले प्रक्रिया छिटो, सहज र मितव्ययी हुने विश्वास व्यक्त गर्नुभयो ।
हुलाक सेवा विभागसँग सहकार्य गरी प्रमाणीकृत कागजात सेवाग्राहीको घरसम्मै पु¥याउने र स्थानीय तहहरूसँग अन्तरनिकाय आबद्धता कायम गर्ने लक्ष्य राखिएको उहाको भनाइ छ ।

