२०८३ श्रावण २२, शुक्रबार ०६:१२

सिरहा र सुनसरीमा भएका हिंसात्मक घटनामा ज्यान गुमाएका चार जनाको सम्झनामा हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा बिहीबार सिरहाको गोलबजारमा आयोजना गरिएको छ ।

साम्प्रदायिक सद्भाव, आपसी विश्वास र शान्तिपूर्ण सहअस्तित्वलाई सुदृढ बनाउने उद्देश्यले उद्योग व्यापार संघ गोलबजारले आयोजना गरेको कार्यक्रम भने अन्तिम चरणमा विवादमा परिणत भएको छ । कार्यक्रममा सुनसरीको देवानगञ्ज घटनापछि उत्पन्न तनाव तथा त्यसको प्रभावबारे बोल्ने क्रममा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेश प्रदेश सभापति तथा प्रतिनिधिसभा सदस्य तपेश्वर यादवको अभिव्यक्तिपछि विवाद शुरु भएको छ ।

सांसद यादवले सुनसरी र सिरहामा भएका घटनापछि सरकारमाथि अनावश्यक आरोप लगाइएको दाबी गर्दै मधेशमा तनाव सिर्जना हुनुमा सरकारभन्दा समाजका केही व्यक्ति तथा विपक्षी दलहरू जिम्मेवार रहेको आशय व्यक्त गरेका थिए । उनले सरकारविरुद्ध सुनियोजित षड्यन्त्र भइरहेको आरोपसमेत लगाए । उनको मन्तव्य राजनीतिक विषयमा केन्द्रित हुँदै लामो हुन थालेपछि सभामा सहभागी केही सहभागीहरुले श्रद्धाञ्जली कार्यक्रममा राजनीतिक टिप्पणी नगर्न आग्रह गरेका थिए । त्यसपछि दुई पक्षबीच भनाभन शुरु भइ कार्यक्रमस्थलको वातावरण तनावग्रस्त बनेको थियो । विवाद बढ्दै गएपछि कार्यक्रम प्रभावित भएको आयोजकले जनाएकाछ छ ।

स्थिति असहज बनेपछि सांसद यादव प्रहरीको सुरक्षामा कार्यक्रमस्थलबाट बाहिरिएका थिए । सञ्चारकर्मीहरुसंगको कुराकानीको क्रममा उनले आफूले कुनै गलत अभिव्यक्ति नदिएको र विपक्षी पक्षका व्यक्तिहरूले अनावश्यक विवाद सिर्जना गरेको जिकिर गरे । यता, मधेश प्रदेशका पूर्वसांसद तथा नेपाल कम्युनिष्ट पार्टी -नेकपा) का नेता जगतप्रसाद यादवले श्रद्धाञ्जली सभालाई राजनीतिक रंग दिन खोजिएकै कारण कार्यक्रमको उद्देश्य प्रभावित भएको आरोप लगाए ।

उनले जनाए अनुसार मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा राजनीतिक अभिव्यक्तिले अनावश्यक विवाद सृजना भयो । विवादअघि सम्पन्न कार्यक्रममा हिन्दू–मुस्लिम समुदायका अगुवा, स्थानीय जनप्रतिनिधि, उद्योगी–व्यवसायी, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहता तथा सिरहाका गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए । दुबै समुदायका प्रतिनिधिहरूले हिंसा कुनै पनि समस्याको समाधान हुन नसक्ने उल्लेख गर्दै सामाजिक सद्भाव, सहिष्णुता, आपसी सम्मान र विश्वासलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।

उनीहरूले अफवाह, उत्तेजनात्मक गतिविधि तथा साम्प्रदायिक द्वेष फैलाउने प्रयासप्रति सचेत रहन सबै पक्षलाई आग्रह गर्दै संवाद, कानुनी शासन र सहकार्यबाट मात्र स्थायी शान्ति कायम गर्न सकिने धारणा व्यक्त गरेका थिए । आयोजकको अनुसार श्रद्धाञ्जली सभापछि गोलबजारमा सामूहिक सद्भाव ¥याली निकाल्ने तथा बन्द रहेका पसल सञ्चालन गराउने तयारी गरिएको थियो । तर कार्यक्रममा विवाद उत्पन्न भएपछि ती कार्यक्रम अन्योलमा परेका छन् । केही सहभागीले विवादका कारण आफूहरू असुरक्षित महसुस गरेको बताएका छन् ।

साउन १० गते सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनामा ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहताको मृत्यु भएको थियो । त्यस घटनापछि उत्पन्न तनावका बीच साउन १४ गते सिरहाको गोलबजारमा आयोजित प्रदर्शनका क्रममा किशोर गणेश यादवको ज्यान गएको थियो । सो घटनापछि मधेशका विभिन्न जिल्लामा तनावको अवस्था सृजना भएको थियो ।

पछिल्ला दिनमा स्थानीय तह, प्रशासन, नागरिक समाज तथा दुवै समुदायका अगुवाहरूले सामाजिक सद्भाव कायम गर्न विभिन्न पहल गरिरहेका बेला गोलबजारमा आयोजित संयुक्त श्रद्धाञ्जली सभामा भएको विवादले स्थानीय स्तरमा पुनः चिन्ता बढाएको छ ।

Comment


Related News

Latest News

Trending News