नेपाली कांग्रेसभित्रको इतर समूहले आगामी साउन २९ देखि ३१ गतेसम्म काठमाण्डुमा आयोजना हुने ‘राष्ट्रिय भेला’ लाई व्यवस्थित, प्रभावकारी र सफल बनाउन ३२ वटा उपसमिति गठन गर्दै तिनका संयोजकहरूको जिम्मेवारी सार्वजनिक गरेको छ ।
यसअघि समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरेको थियो । सोही मूल आयोजक समिति अन्तर्गत विभिन्न विषयगत तथा व्यवस्थापनसम्बन्धी जिम्मेवारी बाँडफाँड गर्दै ३२ उपसमिति गठन गरिएको छ । राजनीतिक प्रस्ताव तयारी समितिको संयोजकमा पूर्वउपसभापति विमलेन्द्र निधि, सांगठनिक प्रस्ताव तयारी समितिको संयोजकमा पूर्वसहमहामन्त्री उमाकान्त चौधरी, समसामयिक प्रस्ताव तयारी समितिमा एनपी साउद, विधान समितिमा रमेश लेखक तथा नेपाली कांग्रेसको आर्थिक नीति समितिमा डा. प्रकाशशरण महतलाई जिम्मेवारी दिइएको छ ।
यस्तै प्रचार–प्रसार समितिको संयोजक मीनबहादुर विश्वकर्मा, आर्थिक व्यवस्थापन समितिको संयोजक दीपक खड्का, प्रशासन समन्वय समितिको संयोजक मोहनबहादुर बस्नेत, भोजन व्यवस्था समितिको संयोजक पूर्णबहादुर तामाङ … कान्छारामÚ, स्वयंसेवक परिचालन समितिको संयोजक जितजंग बस्नेत, सांस्कृतिक समितिको संयोजक विद्या तिमिल्सीना, मञ्च तथा हल व्यवस्थापन समितिको संयोजक राजु श्रेष्ठ तथा स्वास्थ्य समितिको संयोजक उमेशजंग रायमाझीलाई तोकिएको छ ।
विदेशस्थित नेपाली जनसम्पर्क समन्वय समितिको संयोजक किरण पौडेल, ट्रेड युनियन समन्वय समितिको संयोजक हरिशरण नेपाली, भातृ संघ समन्वय समितिको संयोजक गोविन्दबहादुर शाह, शुभेच्छुक संस्था समन्वय समितिको संयोजक ईश्वरी न्यौपाने, आदिवासी जनजाति समन्वय समितिको संयोजक गणेश लामा, दलित समुदाय समन्वय समितिको संयोजक नृप वड, महिला समन्वय समितिको संयोजक उषा राउत, युवा–विद्यार्थी परिचालन समितिको संयोजक कुन्दनराज काफ्ले तथा पेसागत बुद्धिजीवी परिचालन समितिको संयोजक भीमसेनदास प्रधानलाई बनाइएको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशको संयोजकमा वीरबहादुर बलायर, कोशी प्रदेशको संयोजकमा गोमा भट्टराई, मधेश प्रदेशको संयोजकमा पदमनारायण चौधरी, बागमती प्रदेशमा शिव हुमागाईं, गण्डकी प्रदेशको संयोजकमा गुरु बराल, लुम्बिनी प्रदेशमा गेहेन्द्र गिरी र कर्णाली प्रदेशमा सीता रानालाई जिम्मेवारी दिइएको छ ।

