२०८३ श्रावण २२, शुक्रबार ०६:३६

गत दुई दिनदेखि भइरहेको लगातारको वर्षापले रौतहटको राजपुर नगरपालिका स्थित लालबकैया खोलामा पानीको बहाव बढेपछि हुलाकी राजमार्ग डुबानमा परेको छ ।

सडकमाथिबाट बाढीको पानी बगेपछि स्थानीय बासिन्दा, यात्रु तथा सवारी चालक जोखिमपूर्ण अवस्थामा आवतजावत गर्न बाध्य भएका छन् । राजपुर नगरपालिका–२ फतुवा महेशपुरदेखि राजपुरतर्फ जाने हुलाकी सडकखण्ड अन्तर्गत लालबकैया नदीको पश्चिमी लच्कामा बाढीको पानी सडकमाथिबाट बग्न थालेपछि यातायात प्रभावित भएको हो ।

वैकल्पिक मार्गको अभावका कारण स्थानीयले ज्यानको जोखिम मोलेर सोही सडक प्रयोग गरिरहेका छन् । हुलाकी राजमार्गको उक्त खण्ड दैनिक सयौं सवारीसाधन र यात्रुले प्रयोग गर्ने मुख्य सडक भए पनि वर्षायाममा लालबकैया खोलाको बाढीले हरेक वर्ष डुबानमा पार्दै आएको स्थानीयको गुनासो छ ।

यस वर्ष पनि पानीको सतह बढेसँगै सडक जलमग्न हुँदा दुर्घटनाको जोखिम थप बढेको उनीहरूको भनाइ छ । बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण मुख्यालय रौतहट तथा नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । सुरक्षा व्यवस्थालाई थप कडा बनाउनुका साथै यात्रुको आवतजावतमा सहजीकरण गर्ने काम भइरहेको सशस्त्र प्रहरी नम्बर ११ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारीले जानकारी दिए ।

उनका अनुसार सुरक्षाकर्मी घटनास्थलमा निरन्तर निगरानीमा रहेका छन् । खोलाको बहाव अझ बढेमा जनधनको सुरक्षा सुनिश्चित गर्न सडकमा आवतजावत पूर्ण रूपमा रोक्नेसम्मको तयारी गरिएको उनले बताए । सशस्त्र प्रहरीले सर्वसाधारणलाई डुबान भएको सडक पार गर्ने जोखिमपूर्ण प्रयास नगर्न र सम्भव भएसम्म सुरक्षित वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

स्थानीय प्रशासनले निरन्तर वर्षा भइरहेकाले लालबकैया खोलाको जलस्तर अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै नदी आसपासका बासिन्दा तथा यात्रुलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । स्थानीयवासीले भने हरेक वर्ष दोहोरिने डुबान समस्याको दीर्घकालीन समाधानका लागि हुलाकी राजमार्गको सतह उचाल्ने, प्रभावकारी पानी निकासको व्यवस्था गर्ने तथा बाढी प्रभावित क्षेत्रमा स्थायी संरचना निर्माण गर्न सरकारसँग माग समेत गरेको छ ।

Comment


Related News

Latest News

Trending News