२०८३ श्रावण २२, शुक्रबार ०६:४१

धनुषाका पांचजना युवाले वैदेशिक रोजगारीमा पठाई दिने नाममा ठगी गरेको भन्दै तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिएका छन् ।

साउदी अरब पठाइदिने प्रलोभन देखाएर साढे ७ लाख रुपैयाँ ठगी गरेको भन्दै महोत्तरीको जलेश्वर नगरपालिका–१ का राजेश महरा, उनकी श्रीमती मञ्जु देवी र एकडारा गाउँपालिकाका जोगिन्द्र महराविरुद्ध साउन १ गते ठगी तथा विश्वासघात सम्बन्धी उजुरी दर्ता गराएका हुन् । उजुरी दर्ता गराउनेहरुमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–६ लक्ष्मीपुर बगेवाका अनिल कुमार महरा, दीपेन्द्र मण्डल, संजिप महरा, मुकेशकुमार राम तथा महोत्तरी गाउँपालिका–१ पर्साका ललितकुमार महराले रहेका छन् ।

विपक्षीहरूले साउदी अरबको प्रतिष्ठित कम्पनीमा आकर्षक तलब र सुविधा भएको रोजगारीमा पठाइदिने आश्वासन दिएर ठगी गरेको उजुरीमा भनिएको छ । उनीहरूले २०८३ असार ११ गते प्रतिव्यक्ति ४० देखि ५० हजार रुपैयाँ उठाई बुटवलस्थित एक मेडिकलमा स्वास्थ्य परीक्षण गराएका थिए । त्यसपछि असार २४ गते भिसा आइसकेको भन्दै प्रतिव्यक्ति थप १ लाखदेखि १ लाख १० हजार रुपैयाँ बुझाउन लगाइएको उजुरीमा उल्लेख छ ।

पीडितहरूले मञ्जु देवीको नाममा रहेको प्रभु बैंक र राष्ट्रिय वाणिज्य बैंक, जलेश्वर शाखाका खातामा प्रतिव्यक्ति १ लाख ५० हजार रुपैयाँका दरले जम्मा ७ लाख ५० हजार रुपैयाँ लिएको आरोप लगाएका छन् । रकम बुझाएपछि काठमाडौं बोलाइए पनि वैदेशिक रोजगारीका लागि कुनै प्रक्रिया अघि नबढाई तीन दिनसम्म अलपत्र पारिएको र अन्ततः घर फर्किन बाध्य बनाइएको उनीहरूको आरोप छ । त्यसयता आरोपितहरू सम्पर्कविहीन रहेको उजुरीमा उल्लेख गरिएको छ ।

पीडितहरूले आरोपितहरूको कार्य ठगी, आपराधिक विश्वासघात र अनुचित लाभ लिने उद्देश्यबाट प्रेरित भएको दाबी गर्दै निष्पक्ष अनुसन्धान, पक्राउ, कानुनबमोजिम कारबाही तथा ठगी भएको ७ लाख ५० हजार रुपैयाँ ब्याजसहित फिर्ता गराइदिन महोत्तरी प्रहरीसँग माग गरेका छन् । उजुरीसँगै उनीहरूले आफ्नो राहदानीको प्रतिलिपि र बैंकमा रकम जम्मा गरेको रसिदसमेत प्रमाणका रूपमा पेश गरेका छन् । उता महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोले उजुरी परे लगतै ठगीका आरोपित व्यक्तिहरुलाई सम्पर्क हुन नसकेपछि घरमा खोज्न लगाउंदा समेत फेला नपरेको बताए । उनले भने उजुरी परेको खबर पाएपछि उनीहरु फरार भएको हुन सक्छ ।

तर तिनीहरुको खोजी कार्य जारी रहेको र पक्राउ परे पश्चात् ठगी मुद्दामा जाहेरी दर्ता गरेर कारबाही प्रकिया अघि बढाउनेछ ।

 

Comment


Related News

Latest News

Trending News